पूरा भयो प्राविधिक शिक्षा पढ्ने चाहना

63

दमौली, एसइई उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जाने सोचमा हुनुहुन्थ्यो तनहुँको घिरिङ गाउँपालिका–३ अर्चलकोटका रुपा गुरुङ ।सोही वडाको सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयबाट यसै वर्ष एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने बाध्यता गुरुङलाई हटेको छ । विद्यालयले चालु आर्थिक वर्षदेखि नै सव–ओभरसियरको पढाइ शुरु गरेपछि गुरुङले अब गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययनको अवसर प्राप्त गर्नुभएको छ । गुरुङले भन्नुभयो, “प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।” उहाँले घर नजिकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खुशी लागेको बताउँदै अन्यत्र जानु परेको भए खर्चिलो हुने बताउनुभयो ।

घिरिङ गाउँपालिका–२ कोलडाँडाका ताराबहादुर थापा पनि गाउँमै प्राविधिक विषयको पढाइ शुरु भएपछि सजिलो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लामा गएर पढ्नु परेको भए धेरै पैसा खर्च हुन्थ्यो । घरमै बसेर पढ्न पाउँदा सजिलो भएको छ ।” थापाले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता गर्ने भएकोले अन्य विषयभन्दा प्राविधिक शिक्षा रोजेको बताउनुभयो ।विद्यालयले २०७५ असोज महीनामा १८ महीने सिभिल इञ्जिनीयरिङ को सम्बन्धन प्राप्त गरेको थियो । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले पुसको २० गतेबाट प्राविधिक शिक्षाको पढाइ शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक धार तर्फ बढी आवश्यकता देखेर पढाइ शुरु गरेका हौं ।”

उहाँका अनुसार प्राविधिक शिक्षामा २२ जना विद्यार्थी छन् । ४० जनाको कोटा भए पनि सम्बन्धन प्राप्त हुन ढिलाइ भएकोले कोटा अनुसारको विद्यार्थी सङ्ख्या पु¥याउन नसकिएको उहाँले बताउनुभयो । ‘सम्बन्धन पाउन ढिलाइ भएकाले विद्यार्थी सङ्ख्या पुयाउन सकेनौँं, आगामी वर्ष कोटा अनुसारकै विद्यार्थी सङ्ख्या पुयाउँछौँ’’, उहाँले भन्नुभयो । विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्नेमध्ये १४ छात्र र आठ छात्रा छन् । तीमध्ये १७ जनाले सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् भने पाँचजना भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यार्थी रहेका छन् ।प्रधानाध्यापक थापाका अनुसार २२ जना विद्यार्थीमध्ये तीन जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । १८ महीने कोषका लागि रु ६० हजार शुल्क तोकिएको र पाँच किस्तामा उक्त रकम विद्यार्थीले बुझाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा अध्यापनका लागि चार जना शिक्षक रहेका छन् । प्राविधिक शिक्षा सञ्चालनका लागि घिरिङ गाउँपालिकाले रु ५५ लाख अनुदान समेत दिएको छ । उक्त रकमबाट प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरीद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत् रु २६ लाखको लागतमा चार कोठे भवन निर्माण गरिएको छ ।घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले अहिलेको माग र आवश्यकतालाई मध्यनजर गरेर गाउँकै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको प्रयास थालिएको बताउनुभयो । ‘‘अहिलेको माग भनेको प्राविधिक शिक्षा नै हो, त्यसैलाई मध्यनजर गरेर गाउँपालिकाले समेत प्राविधिक शिक्षा शुरुवातका लागि आर्थिक सहयोग समेत गरेको छ’’, उहाँले भन्नुभयो । अहिलेको शिक्षा प्रणालीका कारण डिग्री उत्तीर्ण भए पनि देशमा रोजगारी नपाएर धेरै युवा विदेशिनु पर्ने बाध्यता रहेकाले प्राविधिक शिक्षाको नेपालमा ठूलो माग रहेको थापाले बताउनुभयो ।  (रासस)

Facebook Comments

LEAVE A REPLY