मधेशको विकासका लागि सबै दलको संकल्पको खाँचो छ

44

सत्यनारायण मण्डल
सांसद् तथा स्थायी समिति सदस्य
नेपाल कम्युनिष्ट पार्टी

मधेशमा तत्कालीन शासकहरुले तराईका जनतालाई दास र हलिया बनाएर काममा लगाई श्रमशोषण गरेको प्रत्यक्ष रुपमा देख्दै र भोग्दै आएका एक जुझारु युवा थिए सत्यनारायण मण्डल । तराईका जनतालाई दास बनाई आफू मालिक बनेर शासन गर्दै आएका शासकहरुसँग उनी सानो उमेरमा त खासै त्यसको प्रभाव परेन । तर, जब उनी बुझ्ने भए तबदेखि उनको मनमा लाग्यो आफ्ना आफन्त नातागोतालगायत गाउँका अधिकांशलाई शासकहरुले कमाराकमारीभन्दा पनि एक प्रकारको बन्धक नै बनाएर राखेको थाहा पाएपछि त्यसको विरुद्धमा उनको मनभित्र आगो दन्किन थाल्यो । सोही कारण मण्डल जानी नजानी राजनीतिमा लागे । उनलाई सुरुमा कुन दल के भन्ने पनि जानकारी थिएन तर अध्ययनका खुड्किला चढ्दै गए र बुझ्दै गए देशमा पुँजीपति वर्गले गरिब जनलाई दास बनाएको पाएपछि सो प्रथालाई जरैदेखि उखेल्ने प्रण गरेर तराई केन्द्रित राजनीतिक गर्न थालेका मण्डल अहिले मन्त्री समेत भई दिएको जिम्मेवारी पूरा गरिसकेका छन् । दलीय हैसियतमा उनी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीमा रहेका छन् । उनी अहिले सो दलको स्थायी कमिटीको सदस्य भएर पूर्णकालीन राजनीतिमा संलग्न भएका छन् ।
उनले राजनीति सुरु गर्दा नेकपा एमालेको तर्फबाट खेलकुदमन्त्री भएर आफ्नो जिम्मेवारी पूरा गरेका मण्डल अहिले एकीकृत माओवादी र एमाले एकीकरण भएपछि उनी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं. २ का संसदीय दलका नेता समेत रहेका छन् । दुई नम्बर प्रदेशको सांसद् समेत रहेका मण्डल अहिले सो प्रदेशलाई कसरी आर्थिक रुपमा सक्षम बनाउने, हलियामुक्तिबाट आम जनतालाई छुट्कारा दिलाउने भन्नेबारे लागिरहेका छन् । छलफल भेटघाटमा सक्रिय रहेका छन् । देशलाई आर्थिक रुपमा सक्षम बनाउन सबै दलहरुको सहयोग आवश्यक भएका बताउने मण्डलसँग अब देशमा आर्थिक समृद्धि के गर्दा हुन्छ भन्ने विषयमा  रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश:

अहिले विशेष गरी प्रदेश २ मा किन बढी विवाद देखिएको हो ?
यहाँले भनेजस्तो विवाद त केही छैन तर पनि अन्य प्रदेशभन्दा दुई नम्बर प्रदेश आर्थिक रुपमा कमजोर भने पक्कै छ । आर्थिक रुपमा कमजोर भएपछि असन्तुष्टिहरु हुनु स्वाभाविक हो । तर पनि यो क्षेत्रमा सबैको सहयोग भएमा आर्थिक वृद्धि गर्नेमा कुनै समस्या छैन । किनकि यहाँ प्रशस्त मात्रामा विकासका बाटाहरु रहेका छन्, संकल्पको मात्र खाँचो छ ।

भनेपछि दलहरुकै कारण आर्थिक विकास हुन नसकेको भन्न खोज्नुभएको हो ?
एक हिसाबले तपाईंले भनेको कुरामा सत्यता छ । दलहरुकै कारण यो प्रदेश कर्णाली प्रदेशपछि दोस्रो गरिब प्रदेशमा पर्न आउछ । सम्भावना हुँदाहुँदै पनि पिछडिएको छ । दलहरुका नेताहरु आफूअनुकूलको व्याख्या गर्ने, आफूअनुकूल निर्णय गर्ने तर आम जनतालाई हुने गरी साझा निर्णय गर्न सहमति नभएको पक्कै हो । अब आफ्नो प्रदेशको आर्थिक विकास आफैँले गर्ने हो । त्यसैले केन्द्रीय सरकारको सहयोगमा प्रदेशको विकासका लागि ध्यान नदिने हो भने दुई नम्बर प्रदेश आर्थिक रुपमा संकटग्रस्त प्रदेश हुन्छ । यसमा सबैले बेलैमा सोच्नु आवश्यक छ । विकासको पक्षमा यो दल र ऊ दल भनेर बस्नुहुँदैन । दलहरुको आ–आफ्नो सिद्धान्त फरक भए पनि विकास निर्माणका लागि एक हुन आवश्यक छ । हुनुपर्छ ।

दुई नम्बर प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन के गर्नुपर्छ ?
पहिलो कुरो हो देशकै सवैभन्दा बढी अन्न उत्पादन हुने प्रदेश पनि दुई नम्बर प्रदेश नै हो । तर यहाँ सरकारले पहिलो प्राथमिकता कृषिमा लगाउनुपर्छ । सिँचाइ, नहर र सडकमा विशेष कार्यक्रम ल्याएर काम गर्नुपर्छ । सरकारले कृषिमा सहुलियत दरमा ऋण किसानलाई दिने हो र किसानले उब्जाउ गरेको अन्नपातलाई सहजरुपमा बजारीकरण सरकारले गरिदिने हो भने दुई नम्बर प्रदेश धनी बन्न समय लाग्दैन । तर यसतर्फ न प्रदेश सरकारको ध्यान गएको छ, न केन्द्रीय सरकारको ध्यान गयो । सबै क्षेत्रमा राजनीतीकरण मात्र भयो । त्यही भएर त्यसको असर अहिले हामीले भोग्नुपरेको छ, हाम्रा सन्तानहरुले भोग्नुपरेको छ । यसका अलावा सरकारले सिँचाइ र सडकको स्तरोन्नतिमा पनि विशेष ध्यान दिनु आवश्यक छ । यसका अलावा त्यहाँको अमूल्य जडीबुटी खनिज हुँदाहुँदै पनि कर्णाली प्रदेशपछि दोस्रो गरिब प्रदेश हो । जबसम्म यी विषयमा सरकार गम्भीर हुँदैन, तबसम्म यो प्रदेशको विकासको बाटोमा पछि नै पने छ ।

प्रदेशलाई समृद्ध र विकसित बनाउन सबै पार्टीको सहकार्य आवश्यक छ भन्नुभयो तर यसमा अन्य दलका नेताहरुलाई कसरी विश्वास दिलाउने ?
० हैन व्यक्तिगत रुपमा पहल गरेर केही हुँदैन । देश दलीय व्यवस्थामा चलेको छ । राजनीतिक अस्थिरताका कारण यो समस्या रहेको छ । समृद्धि र विकासका लागि सबै दलको सहकार्य हुनुपर्नेमा दुईमत छैन । विकास एक जनाले गरेर हुँदैन, एक दलले गरेर सकिँदैन । देश र प्रदेशको विकासमा सबै दलको सहकार्य नभएकै कारण देश गरिब हुनपुगेको हो । अब विकासका पक्षमा दलीय झगडा हैन मिल्नुको विकल्प छैन । यसमा मेरो पाटोबाट र दलको पक्षबाट सबै दललाई एकै मोर्चामा ल्याएर विकासका लागि झगडा गर्नु उचित नहुने र मिल्नुमा विकल्प छैन भन्ने गरेको छु । देश र प्रदेशलाई समृद्ध बनाएपछि फेरि दलको पक्षबाट गरिने कार्य गर्दा हुन्छ भन्ने मेरो धारणा छ । आफ्नो पक्षबाट प्रदेश र देशकै विकासमा एक हुन पहल गर्नेछु, हेरौँ कतिको सफल हुन्छ ।

मधेशको राजनीति गर्ने ठाउँ प्रदेश २ मात्र हो कि अरू प्रदेश पनि हो ?
० वास्तवमा मधेश भनेको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको भू–भाग हो । विगतमा पटक–पटक मधेश आन्दोलन हुँदा झापादेखि कञ्चनपुरसम्म नै भएको थियो । कुनै ठाउँमा अलि बढी भयो, कुनै ठाउँमा अलि कम भयो । त्यो आफ्नो ठाउँको कुरा हो । तर, झापादेखि कञ्चनपुरसम्मको भू–भागका लागि मधेशी जनताले संघर्ष गरेकै हुन् । तर कसरी पोल्टिक्स हुन्छ भन्ने कुरा राज्यको संरचनामा भरपर्छ । प्रदेश २ बाहेक अन्य प्रदेशमा एउटा के भ्रम परेको छ भने प्रदेश २ बाहेक अरू प्रदेश पनि पुग्दो आर्थिक विकास भएको छैन । सबै प्रदेशमा आर्थिक संकट रहेको छ । केन्द्रीय सरकारबाट सवै कार्यनीति तथा अधिकार दिएको पनि छैन । सो दिने क्रममा केन्द्रीय सरकार रहेको छ । किनभने देश संघीयतामा गइसके पनि पूर्वको प्रदेश १ होस् वा पश्चिमको ५ र ७ प्रदेश होस् त्यहाँ मधेशीमाथिको विभेद पनि कायमै छ । प्रदेशले पनि मधेशीलाई अल्पसंख्यकका रूपमा व्यवहार गरेको पाइन्छ तर जनगणनाका आधारमा हेर्ने हो भने मधेशीको जनसंख्या बढी रहेको छ । तैपनि विभेद सहेर बसेका छन् मधेशी समुदाय ।

स्थानीयस्तरमै विकास हुनुपर्छ हैन र पहिला ?
० सातवटा प्रदेशमध्ये ६ वटामा कम्युनिष्टको रहेको छ । दुई नम्बर प्रदेशमा हाम्रो सरकार छैन । विविध कारणले हुनसकेन । त्यसतर्फ नजाऔँ । जो भए पनि विकास गर्नुपर्छ भन्ने भावना हुनु जरुरी छ । नेपालको अन्नभण्डारको रुपमा दुई नम्बर प्रदेश रहेको छ । तर सामन्तवर्ग विकासविरुद्ध उभिने गरेको छ । पुँजीपतिहरुले कमराकमारी बनाएर दास बनाएर राख्न चाहन्छ, हिजो पनि त्यो अवस्था थियो, अहिले पनि त्यो अवस्थाबाट मुक्त भएको छैन । यो समस्या त छँदै छ अर्को कुरा यस प्रदेशलाई बाहिरी शक्तिले पनि सो भूमिलाई क्रीडास्थल बनाएर राख्न चाहेको छ । बनाइरहेको छ । पूर्वदेखि पश्चिमसम्म खुला भारतको नाका रहेको छ सो खुला नाकाले गर्दा पनि भारतको दुष्प्रभाव परेको छ । भारतमा रहेको अंग्रेजकालीन मानसिकता अझै गएको छैन । मधेशमा अस्थिरता गराइरहने र आफ्नो स्वार्थ पूरा गर्ने रुपमा भारतले यस प्रदेशलाई लिएको छ । प्राकृतिक स्रोेतहरु ठूला नदीहरु कोशी गण्डकहरु सबै उतै लगेको छ । हिजो हामी धानचामल निर्यात गर्ने गरेका थियो अहिले अर्बौँ रुपैयाँको आयात गर्नुपरेको छ । त्यसको पछाडी विगतका शासकहरु जो बने, चाहे पहाडका होस्, चाहे मधेशका, उनीहरुले आफू मोटाउने मात्र काम गरे । जनता जेसुकै हुन्, यस्तो हुन गएको हो । हाम्रो शासनसत्ता विचमा दुई/चार ६ महिना आयो तर सो समयका विकास हुन त सक्दैन ।

के–के योजना सरकारले लागू गरेमा प्रदेश नम्बर दुई आत्मनिर्भर हुन सक्छ ?
० प्रदेश नम्बर दुईमा पहिलो कुरा कृषिमा प्राथमिकता तोकेर जानुपर्छ । त्यसपछि सिँचाइको मात्र व्यवस्था भयो भने धेरैमात्रामा हल हुन्छ । यी कुरा नभएका कारण अहिले वैदेशिक रोजगारीमा जानेमध्ये धेरे युवायुवती यसै प्रदेशको रहेका छन् । कृषिमा सुधार भएको खण्डमा यो समस्या हल हुन्छ । यस प्रदेशमा उद्योग धन्दा पनि रहेका छन् । यसलाई पनि सहजरुपमा सञ्चालन गरिनु पर्छ । अझै व्यवस्थित बनाएर चलाउनुपर्छ । मुख्य सडकको स्तरोन्नति गरिनुपर्छ । अहिलेको सो सडकले भार धान्नसकेको छैन । खुला नाकाका कारण बढ्दो चोरी निकासीलाई नियन्त्रण गरिनुपर्छ । यस प्रदेशमा आप र केराको उत्पादनमा जोड दिने र सोसम्बन्धी उद्योग स्थापना गरिनुपर्छ ।

झापा, सुनसरी र मोरङलाई पनि प्रदेश दुईमा मिलाउनुपर्ने जुन कुरा भइरहेको छ, त्यसमा तपाईंको भनाइ के छ ?
० मलाई अच्चम लाग्छ, तपाईंले त्यस्तो किन देख्नुभयो । यो माग हामीले गरेका होइन, गर्ने दलहरुले के गर्दै छ म त्यसतर्फ जाँदिन । मलाई पनि लागेको छ पहिले भएको जिल्लाहरु दुई नम्बर प्रदेशबाट हटाउनुहुँदैन भन्ने पक्षमा म पनि छु । संविधान निर्माण हुँदा होस् वा प्रदेशको सीमाङकन गर्नेको अवस्था होस्, तीन जिल्लाका जनताले विरोध जनाएका थिए । सडकमा ओर्लेका थिए ।

मधेशमा कम्प्युनिष्ट कमजोर छ भन्ने चर्चा थियो । देशभर कम्प्युनिष्टकै सरकार बनिरहँदा अहिले त झन् प्रदेश नम्बर दुईमा तपाईंहरुको सरकार हुन सकेन नि, किन होला ?
० बिल्कुल त्यस्तो होइन । एमाले कति शक्तिशाली छ भन्ने एमालेको जनलहरले नै धेरैलाई थाहा भएकै छ । हामी अहिले पनि प्रदेश नम्बर दुईमा हाम्रो सरकार हुन सकेन, त्यसको पछाडि विविध कारणहरु रहेका छन् । त्यसतर्फ नजाऔँ ।

भनेपछि तराईमा तपाईंहरुको दल नै बलियो छ, होइन त ?
० हो, हाम्रो विरोधमा मधेशमा झूठा प्रचार र भ्रमको खेती भएको थियो । त्यसलाई हामीले समयमै चिन्न सकेनौं । आज उनीहरु आफूलाई लोकतान्त्रिक भन्छन् । हामीलाई यिनीहरु मधेशमा लुकीछिपी हिँड्छन् भन्छन् । जतिबेला यी दलहरु जन्मिएका थिएनन्, म त्यतिबेला खुल्लम खुला राजनीति गरेको र जेलजीवन बिताएको मान्छे हुँ । म निरंकुश राजत्रन्त्रको विरुद्धमा पनि हतियार बोकेर हिँडेको हुँ । त्यतीमात्र होइन १२ वर्ष भूमिगत रहेर पञ्चायतलाई खारेज गराएको हुँ । त्यसपछि मात्र खुला भएको हो । अहिले यिनीहरु तराईमा हाम्रो अवस्था कमजोर छ भन्नु उचित देख्दिनँ । कहिलेकाहीँ सबै कुरा मिलाउँदा केही गुमाउनुपर्ने हुन्छ अहिले हामीले सत्ता गुमाएका हौँ अरु केही पनि गुमाएका छैनौँ ।

भनेपछि तपाईंहरुमाथि लाग्ने गरेको भ्रम अहिले तपाईँहरुले विस्तारै चिर्दै जानुभएको छ ?
० हो, हामीविरुद्ध लगाइएका सबै आरोप झूटा थिए । हामी हुर्किएको नै तराईका जनताको काखमा हो । त्यसैले तराईका जनताको काखमा हुर्किएको पार्टीलाई लगाएका आरोप अहिले हामीले चिर्दै आएका छौँ । हामी आदिवासी मधेशी हौं । किसान आन्दोलन मधेशकै भूमिमा भएको हो । त्यो आन्दोलनको अगुवाइ कम्युनिष्टले गरेको हो । त्यसैले हामी ती भ्रमबाट डराउनुपर्ने केही छैन । पञ्चायती शासनदेखि अन्य शासनविरुद्ध लडेको पार्टी हो । त्यसैले लोकतन्त्र र गणतन्त्र आएको यो बेला हामी र हाम्रो पार्टी डराउनु पर्छ भन्ने मलाई लागेको छैन ।

बहुमत पाएको सरकारले जति गर्नुपर्ने विकास हो, त्यो गर्न सकेन भन्ने गुनासो रहेको छ नि आम जनाताको ?
० हो, जनतामा निराशा छाएको छ । पार्टीको चुनावी घोषणापत्रमा रहेको वृद्धभत्ता यो सरकारले सम्बोधन गर्न नसेकोमा वृद्धवृद्धाहरु निराश छन् । यसलाई सरकारले सम्बोधन गर्नेछ । बाँकी अरु कुरा केही सानातिना छन्, त्यसलाई उठाएर सरकारको विरोधमात्र गरेका हुन् विपक्षीहरुले । अन्य दलले विल्कुलै बुझ पचाएर विरोध गरेको हो । चुनावबाट बहुमतबाट सरकार बनाएको कम्युनिष्टलाई साम्राज्यवादीहरुलाई स्वीकार छैन । यो वर्गीय कुरा हो । विश्वसमाज वर्गीय छ । अन्तरिक सिस्टमलाई नस्वीकार्ने । लोकतन्त्र र गणतन्त्रलाई नस्वीकार्ने अझै छन् । आफूलाई लोकतन्त्रको मदर, फादर, ग्राण्डफादर भन्छन् । आफ्नो पार्टी भन्छन् तर त्योभन्दा बढी प्रजातान्त्रिक पार्टी हाम्रो छ । उनीहरुले हाम्रोे न्वारान समेत भएको छैन हामीलाई तानाशाह भन्न थाले । उनीहरुले बुझेर यिनीहरुले देशलाई लुटेर कंगाल बनायो त्यस कारणले घरेलु प्रतिक्रियावादीहरुले पनि लोकतन्त्रको मुखुण्डो लगाएकाहरुको वाहियात प्रचार हो । त्यससँगै बाहिरी शक्ति पनि त्यसकै पछि लागेको छ ।

तर यहाँले यसो भनिरहँदा यथार्थमा आमजनताको चाहनामाथि त यो सरकारले न्याय गर्न नसकेकै हैन र ?
० तपाईं भन्नुहोस्, यो सरकार भएको कति दिन भएको छ ? काम गर्ने सिस्टमै खराबी छ काम गर्ने कुरामा । यहाँको कर्मचारीतन्त्रबाट सरकारलाई सहयोग भएको छैन । ७५ प्रतिशत ठूलाबाबुका छोराछोरी र सामन्तीवादीका सन्तानहरु रहेका छन् । उनीहरुबाट सहयोग भएको छैन । यस्तो अवस्थामा सरकारले कडा कदम चाल्नुपर्छ भनेर सुझाव दिएका छौँ । समयमा काम नगर्ने आफ्नो खल्ती भर्नेलाई कारबाही गरेर विकासका काममा लाग्नुपर्छ भनेका छौँ । यहाँका ठूलाठूला मिडिया हाउसमा विदेशी लगानी छ । उनीहरुले सत्य कुरा लेख्न नै चाहेका छैनन् । त्यसैले यो सरकारले काम गर्न नचाहेको भन्ने कुरामा ९९ प्रतिशत पनि सत्यता छैन । सरकार काम गर्न नै गठन भएको हो ।

तपाईंले केपी ओली नेतृत्व सरकारले काम गर्न चाहेको, भ्रष्टाचारीलाई निर्मूल बनाउने भन्दै गर्दा आफैँलै अयोग्य भएको र करोडौँ रुपैयाँ घोटाला गर्नेलाई सोही पदमा किन नियुक्ति गरेको त ?
० एउटा सानो गल्ती देख्नुभयो भने एकसयभन्दा बढी अपराध छन् । विदेशीका नुन खाएर अरुसँग झगडा गर्न जाने कि नयाँ व्यवस्था गर्ने । सरकारले गरेको खारेजीलाई पुनस्र्थापना गरेपछि, अदालतबाट उल्टाएपछि एक/दुई जनालाई सरकारले पुनः नियुक्त गर्ने त्यसमा के दोष ।

प्रसंग बदलौँ, सरकारले निर्मलाको हत्यामा संलग्नलाई कारबाही गर्न सकेन भन्ने आरोप पनि लागेको छ नि ?
० यहाँ कोही कसैको हत्या हुनु गलत हो । हत्यामा संलग्न जो भए पनि कारबाही हुनुपर्छ भन्ने पक्षमा छु । यहाँ काँग्रेसले लासको राजनीति गरेको छ । पश्चिमा डलरको भरमा तथाकथित मानवअधिकारवादी र लोकतन्त्रवादी भन्नेले लासको राजनीति ग¥यो । म भन्छु २०५० सालको दासढुंगामा मदन आश्रितको हत्या भयो, २०५९ जेठ १९ गते दरबारहत्याकाण्ड भयो, यसमा किन खोजी हुँदैन किन अनुत्तरित ? त्यसबेलाको सरकारको नेतृत्व गरेकाले किन कारबाही गरेन ?

दासढुंगा हत्याकाण्ड, दरबार हत्याकाण्डका बारेमा तत्कालीन सरकारले कारबाही गरेन भन्नुभयो तर पटक–पटक तपाईंको दलले पनि सरकारको नेतृत्व गरेको थियो, त्यस बेला किन खोजी भएन हत्याराको ?
० त्यसबेला कांग्रेसको सरकार थियो । पावरफुल गृहमन्त्री शेरबहादुर, गिरिजाप्रसादको सरकार थियो । हाम्रो सरकार त ९ महिनाभन्दा बढी भएन । २० वर्ष कांग्रेसले शासन ग¥यो किन कारबाही गरेन । तर सानो गल्ती हुँदैमा कम्युनिष्ट सरकारलाई किन भन्ने ? यतिबेला सो कुरा उठाउने बेला भएको छैन । हामी समय आएपछि सो बारे उठाउनेछौँ । पहिलो सरकारको पालामा पनि हत्या भएको छ, त्यसलाई नहेर्ने तर केपी ओलीको सरकारको बेला भएको हत्यालाई मात्र किन उठाइरहेका छन् । नेपालका ४० प्रतिशत राजनीति गर्नेहरु विदेशीको दानापानी खाएर राजनीति गर्छन्, त्यही भएर समस्या समाधान हुन नसकेको हो । (साभार  : आर्थिक दैनिकबाट)

Facebook Comments

LEAVE A REPLY