अर्थमन्त्रीसँग अमेरिकी राजदूतको भेट

32

काठमाडौँ,   अर्थमन्त्री युवराज खतिवडासँग नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी बेरीले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

राजनीतिक एवं आर्थिक वृत्तमा नेपालले हासिल गरेको प्रगति सुनाउँदै अर्थमन्त्रीले निरपेक्ष गरीबीबाट मुक्त हुँदै सन् २०२२ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति हुने लक्ष्यका साथ राष्ट्रले अग्रगति लिएको बताउनुभयो । नेपाललाई मध्यमआय भएको मुलुकमा रुपान्तरण गर्ने सरकारको लक्ष्य रहेको जानकारी पनि मन्त्री खतिवडाले गराउनुभयो ।

सरल करनीतिका कारण अन्य दक्षिण एशियाली मुलुकजस्तै नेपाल पनि खुला र लगानीका निम्ति अनुकूल देश भएको बताउँदै उहाँले स्वदेशी पूँजीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । दश वर्षअघिको आफ्नो नेपाल सेवाको स्मरण गर्दै अमेरिकी राजदूतले नेपाल सरकारका प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग (युएसएआइडी) ले नेपालमा सञ्चालन गरेका परियोजना तथा कार्यान्वयनका क्रममा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्तालगायत द्विपक्षीय विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

भेटमा अर्थसचिव राजन खनाल, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै युएसएआइडीका प्रमुख एमी टोहिलस्टुल तथा दूतावासका उच्च अधिकारीको सहभागिता थियो ।

Facebook Comments

LEAVE A REPLY