राष्ट्रपतिबाट भाइटीका

44

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभएको छ ।

तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।

तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ ।रासस

Facebook Comments

LEAVE A REPLY