नेपालका ह्यारी भण्डारी भए अमेरीकाको सांसद

34

वासिङ्टन,   अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ ।

बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जीत हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमुलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुग्नुभएको छ ।

तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हँुदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजारभन्दा बढी मत ल्याउनुभएको छ ।

भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । गत जुनमा उहाँ डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित हुनुभएको थियो ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका आउनुभएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक हुनुहुन्थ्यो भने अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध हुनुहुन्छ ।

एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिनुहुन्छ ।

गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उहाँ दोस्रो भएर निर्वाचित हुनुभएको थियो । यसअघि सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बनेका भण्डारी त्यतिबेला भने पराजित हुनुभएको थियो ।

अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्दछ । दुई बर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो ।

अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो ।

Facebook Comments

LEAVE A REPLY