आम्दानीको स्रोत झिनियाँको व्यापार

21

-सुशीला रेग्मी 

बेझाड, पाल्पा,   तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ ।

तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढङ्गले महिलाले यो व्यवसाय अपनाएका छन् । पाल्पाको सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट मनग्य कमाइ गर्न सफल भएका छन् । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि व्यावसायिक ढङ्गले झिनियाँको व्यापार गर्दै आएको रामपुर नगरपालिका–५ राङभाङकी मैयाँ श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठले यो व्यवसाय आजभन्दा ११ वर्ष अघिदेखि निरन्तर रुपमा गर्दै आउनुभएको छ । उहाँलाई अहिले झिनियाँ बनाउने र बिक्री गर्न भ्याइनभ्याइ छ । श्रेष्ठले विशेष गरी तिहार पर्वका बेला यसको बिक्रीबाट रु डेढ लाखसम्म आम्दानी गर्नुहुन्छ । “जब तिहारको चहलपहल शुरु हुन थाल्यो तब झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो । अन्य बेला पनि व्यापार निरन्तर भइरहन्छ तर तिहारमा अत्यधिक बिक्री हुने हुँदा बनाउन भ्याइनभ्याइ रहेको श्रेष्ठले भन्नुभयो ।

“लगानी खेर जान्छ कि भन्न नपर्ने, घरायसीधन्दा सँगसँगै दिनहँु यसको बिक्रीबाट राम्रो आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो । अहिलेसम्म करीब ४० क्विन्टल जति तिहारका लागि मात्र बिक्री गरेको र ५० क्विन्टलसम्म बिक्री हुने अनुमान उहाँको छ । गत वर्ष रु डेढ लाखसम्म कमाइ गर्नुभएकी श्रेष्ठले यस वर्ष करीब रु दुई लाख जति कमाइ हुने आशा गर्नुभएको छ । अहिले दैनिक ३०० दर्जन बढी झिनियाँ बिक्री गर्नुहुन्छ ।

रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारी बस्ने लक्ष्मी श्रेष्ठ पनि तिहारका लागि झिनियाँ बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । यसबाट राम्रै आम्दानी हुन थालेपछि बिगत तीन वर्षदेखि व्यावसायिकरुपमा यसको व्यापार गर्दै आएको उहाँ बताउनुहुन्छ । तिहारमा उहाँले झिनियाँ बिक्रीबाट साढे दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पु¥याउनै सकिएको छैन” उहाँले भन्नुभयो । तिहारका बेला माग बढ्ने हँुदा महिला कामदार राखेर झिनियाँ बनाउन थालेको बताउँछन् ।

यहाँ उत्पादन भएको झिनियाँ रामपुर बजारका अलावा पाल्पाका विभिन्न स्थानीय बजार, स्याङ्जा, तनहुँ, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । करीब २५÷३० हजारको लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि महिलाका लागि यो व्यवसाय आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । यहाँ उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पीठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने यो हिजोआज भने अन्य समयमा पनि बिक्री हुने गरेको पाइएको छ ।

जनजाति वर्गको शुभकार्य तथा पूजाका समयमा अनिवार्यजस्तै भएको झिनियाँ पछिल्लो समयमा सबै वर्ग, सबै जातजातिमा प्रयोग हुन लागेपछि यसको मागसमेत बढ्दै गएको हो । चामलको पीठोबाट सामान्य यन्त्रको प्रयोगबाट बनाइएको झिनियाँ घामको तातोमा सुकाएर तयार गरिन्छ । यस कार्यमा पुरुषको तुलनामा महिलाले बढी अग्रसरता देखाउँदै कुटिर उद्योगका रुपमा झिनियाँ रोटी बनाउने गरेका छन् ।

झिनियाँ बनाउने सीप र प्रविधि स्थानीय नै हो । त्यसलाई आवश्यक पर्ने कच्चापदार्थ चामलको पीठो पकाएर तातो पीठो यन्त्रमा राखेर बनाइने झिनियाँ जिल्लामा छरिएर रहेका व्यवसायीले तिहार पर्वको अवसरमा मात्रै झण्डै दुई करोडभन्दा बढीको निर्यात गर्दै आएका छन् । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजपर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा पनि यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । रासस

Facebook Comments

LEAVE A REPLY