कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट

29

काठमाडौँ,  इण्डोनेशियामा हुने १५औँ एशिया प्रशान्त सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट पाँच पुरुष र चार महिला गरी नौ खेलाडी छनोट भएका छन् ।

नेपाल सितोरियो कराते सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिनुभयो । उक्त प्रतियोगिता इण्डोनेशियाको जकार्तामा आगामी मङ्सिर ५ देखि ९ गतेसम्म हुँदैछ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा आज भएको प्रतियोगिताको पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बाँस्तोला पहिलो भए । उनले फाइनलमा आफ्नै विभागका प्रवीण मानन्धरलाई पराजित गरे । पुरुष ५५ केजीमुनि नेपाल प्रहरीका विजय श्रेष्ठ पहिलो भए । उनले फाइनलमा प्रहरीकै सोनाम लामालाई हराए । पुरुष ६० केजीमुनि काठमाडौँका अनिश लामा, ६७ केजीमुनि केन्द्रीय डोजोका आशिष थापा र ८४ केजीमाथि एपिएफ क्लबका डिगम्बरप्रसाद पन्त पहिलो हुँदै प्रतियोगिताका लागि छनोट हुन सफल भएका छन् ।

महिला एकल कातामा प्रहरीकी चञ्चला दनुवारले आर्मीकी रिना श्रेष्ठलाई पराजित गर्दै छनोट हुन सफल भइन् । महिला ५० केजीमुनि सेनाकी कुसुम खड्का पहिलो भइन् । कुसुमले फाइनलमा सेनाकै मिस्ली श्रेष्ठलाई हराइन । ५५ केजीमुनि एपिएफकी मनिषा चौधरीले खोटाङकी विद्याकला राईलाई पछ्याउँदै पहिलो स्थान हात पारिन् । ६१ केजीमुनि सेनाकी सनी तामाङ छनोट हुन सफल भइन् । फाइनलमा सनीले प्रहरीकी सुनिता महर्जनलाई हराइन् । एकदिने छनोट प्रतियोगितामा ६१ पुरुष खेलाडीले पाँच स्पर्धा तथा ४५ महिला खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

थापा र उप्रेती सिङ्गापुर प्रस्थान 

एशोसिएसन अफ एशिया स्पोर्ट्स इन्स्टिच्युटको कङ्ग्रेसमा सहभागी हुन राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य गङ्गाबहादुर थापा र राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक नवीन उप्रेती आज सिङ्गापुर प्रस्थान गरेका छन् । यही कात्तिक २१ देखि २३ गतेसम्म हुने कङ्ग्रेसमा ४० देशको सहभागिता रहने निर्देशक उप्रेतीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY