शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

43

काठमाडौँ,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा सहयोग मिलेको बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त हुनु र अफिसियल डेभलपमेन्ट एसिस्टेन्टअन्तर्गत नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनामा कोरियाली सहयोगमा दुई परियोजनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उहाँले अवगत गराउनुभयो ।
संविधान र सङ्घीयतासँगै मुलुक समृद्धितर्फ उन्मुख भएको जानकारी दिँदै मन्त्री पोखरेलले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग कोशेढुङ्गा हुने आशा व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म सियोलमा हुने विश्व सूचना प्रविधि नेतृत्व सम्मेलन’ मा भाग लिन आफूले निमन्त्रणा स्वीकार गरेको पनि जानकारी दिनुभयो ।

राजदूत पार्कले आफूले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाका विकासका लागि नेपाल सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments

LEAVE A REPLY