गोरखा र तनहुँका गाउँमा ‘होमस्टे’ सञ्चालन हुने

- February 23, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गोरखाबजार । कोसिस सामुदायिक अध्ययन केन्द्र लैनचौर, काठमाडौँले गोरखा र तनहुँमा होमस्टे (घरवास कार्यक्रम) सञ्चालन गर्ने भएको छ ।

पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउन उक्त अध्ययन केन्द्रले गोरखाको पर्यटकीय गाउँ वारपाक र सिम्जुङ तथा तनहुँको छिम्केश्वरी र धरमपानी गाविसमा ‘होमस्टे’ सञ्चालन गर्न लागेको हो ।

प्रत्येक गाउँका छवटा घरमा ‘होमस्टे’ सञ्चालन गरेर स्थानीय बासिन्दाको आयस्रोत वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम लागू गर्न लागेको केन्द्रका सचिव विनोद पौडेलले जानकारी दिए ।

“आन्तरिक तथा विदेशी पर्यटक पु¥याउन हामीले काम सुरु गरेका छौँ”, सचिव पौडेलले भने, “होमस्टेमा पर्यटकलाई आवास सुविधा दिनेमात्रै होइन । पर्यटकलाई रीतिरिवाज, कला संस्कृति र रहनसहनको अनुभव हासिल गर्ने मौका दिनुपर्छ ।”

पर्यटकलाई शान्त वातावरणमा बसोवासको व्यवस्था मिलाउन ‘होमस्टे’ कार्यक्रम लागू गर्न लागेको बताए ।

‘कोसिस’ले पहिलो चरणमा एक वर्षभित्र गोरखा र तनहुँको चार गाविसको २४ वटा घरमा ‘होमस्टे’ सञ्चालन गर्ने तयारी थालेको छ । “होमस्टे चलाउन इच्छुक स्थानीय बासिन्दालाई छनोट गरिन्छ ।

एक घरको दुईजनाका दरले तालिम दिन्छौँ”, उनले भने, “होमस्टेका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार खडा गरेपछिमात्रै पर्यटक गाउँ पु¥याउँछौँ ।” ‘होमस्टे’मा स्थानीय उत्पादनको विभिन्न परिकार पाहुनाले चाख्न पाउने उक्त अध्ययन केन्द्रले जनाएको छ ।

हरियो वनलगायत संस्थाको रु तीन लाख ९२ हजारको सहयोगमा चार गाउँमा ‘होमस्टे’ सञ्चालन गर्न लागेको केन्द्रका युवराज देवकोटाले जानकारी दिदैं “एकै ठाउँमा झुरुप्प भएको गाउँमा हामी ‘होमस्टे’ कार्यक्रम सञ्चालन गर्छौं । ती घरको बाहिरी रङ एकै प्रकारको हुन्छ ”, देवकोटाले जानकारी दिए ।

‘होमस्टे’ सञ्चालनका लागि ग्रामीणस्तरमा अनुगमन समिति, सञ्चालन समिति गठन गरेर प्रभावकारी रुपमा होमस्टे कार्यक्रम लागू गर्ने ‘कोसिस’ले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!