नेपाल र श्रीलंकाबीचको सम्बन्ध शताब्दीऔँ लामो

- December 19, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ललितपुर,परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपाल र श्रीलंका बीचको मैत्रीपूर्ण सम्बन्ध शताब्दीऔं लामो भएको बताउनुभएको छ ।

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित श्रीलंकाली दुतावास र बौद्ध बिहार संघद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले औपचारिकरुपमा ६० वर्षदेखि कूटनीतिक सम्बन्ध स्थापित भएपनि अनौपचारिकरुपमा त्योभन्दा धेरै लामो भएको बताउनुभएको हो ।

सचिव बैरागीले भन्नुभयो, “धर्म, कला, संस्कृतिमार्फत नेपाल र श्रीलंका लामो समयदेखि जोडिएकोे छ ।” भूकम्पपछिको पूर्ननिर्माणमा श्रीलंकाली सरकारले गरिरहेको सहयोगको पनि उहाँले प्रशंसा गर्नुभयो ।

नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेराले उच्च स्तरमा भइरहेको भ्रमणले नेपाल र श्रीलंकाबीचको सम्बन्ध अझै बलियो बनाएको बताउनुभयो ।

“तत्कालिन राजा महेन्द्रदेखि नेपालका राज्य प्रमुखहरूको र श्रीलंकाका प्रमुखले समय–समयमा महत्वपूर्ण भ्रमण भइरहेको छ, उहाँले भन्नुभयो, “नेता, विद्धान, भिक्षुलगायतको भ्रमणले दुई देशको सम्बन्ध अझै बलियो भएको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले श्रीलंका र नेपालको सम्बन्ध सधैं मैत्रीपूर्ण र जनता–जनताबीच जोडिएको बताउनुभयो ।

लुम्बनी बौद्ध विश्वबिद्यालयका उपकुलपति नरेशमान बज्रचार्यले बौद्ध शिक्षा विश्वविद्यालयमा भित्र्याउन नेपालभन्दा श्रीलंका अघि भएको धारणा व्यक्त गर्नुभयो ।

बौद्ध बिहार संघ ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), विमस्टेकलगायतका क्षेत्रीय मञ्चहरूमा नेपाल र श्रीलंका सँगसँगै भएको बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!