कृषि सडक निर्माणले तरकारी ढुवानी सहज

- June 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रत्ननगर चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको विकट क्षेत्र काउलेस्थित चेपाङ गाउँमा कृषि सडक निर्माण गरिएको छ ।सो गाउँपालिकाको कोटभञ्याङबाट तोवाङ स्कुलसम्म करिब दुई किलोमिटर भन्दा बढी कृषि सडकको निर्माण कार्य सम्पन्न भएको सो गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार माझ काउलेसम्म सडक जोड्ने लक्ष्यसहित पहिलो चरणमा दुई किलोमिटर सडक निर्माण सम्पन्न भएको र आगामी वर्ष बाँकी सडक निर्माण गरिने छ, उहाँले भन्नुभयो – “आगामी वर्ष विशेष योजना बनाएर विभिन्न क्षेत्रमा कृषि सडक सञ्जाललाई प्राथमिकता दिइनेछ ।”

साविक काउले गाविस– ५ तथा हालको इच्छाकामना गाउँपालिका–२ मा उक्त सडक निर्माण गरिएको हो । काउले गाविसको रु दुई लाख, स्थानीय समुदाय, सङ्घसंस्था र समाजसेवीको सहयोग रकमबाट उक्त सडक निर्माण भएको जनाएको छ । सो सडक निर्माण भएपछि यहाँ उत्पादित कृषि सामाग्री ढुवानीमा सहज भएको गाउँपालिकाका वडाध्यक्ष पञ्चबहादुर चेपाङले जानकारी दिनुभयो ।

करिब रु १० लाखको योजनामा यहाँ सडक निर्माण गरिएको बताउँदै उहाँले उक्त क्षेत्रमा मुख्यगरी गोलभेंडा, सिमी, बोडी, स्कुसलगायत तरकारी उत्पादन हुने गरेका छन् भन्नुभयो ।

उपभोक्त समितिमार्फत यहाँको ग्रामीण क्षेत्रमा कृषि सडक निर्माण तीव्र पारिएको छ, उपभोक्ता समितिका अध्यक्ष पोष्टबहादुर प्रजाले कृषि सडकले चेपाङलाई आयआर्जनमा सहयोग गरेको बताउनुभयो ।

यसअघि धादिङको हुग्दीबाट चितवनको विकट काउलेको हात्तीवाङसम्म सडक सञ्जाल जोडिएपछि किसानले व्यावसायिक तरकारीखेती समेत सुरु गरेका छन् । सडक सञ्चालन भएमा विकास र आयआर्जनमा वृद्धि भएको स्थानीयवासीको भनाइ छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!