निर्वाचन आचारसंहिता उल्लङ्घन

- June 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गाईघाट उदयपुर । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् ।राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसर वरपरसमेत पार्टीका झन्डा र ब्यानर राखेको पाइएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेकोछ । तर यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन् ।

“चियापसलदेखि व्यापारीलाई समेत टिसर्ट लगाउन लाउने गरेका छन्,” गाईघाटका व्यवसायी ध्रुव राउतले भन्नुभयो ।

यस्तै राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन् । त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदन्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताउनुभयो । सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

गाईघाटका व्यवसायी विनोद साह भन्नुहुन्छ, “मेरो घरको अगाडि आएर सबै राजनीतिक दलले झन्डा गाडेर गएका छन्, मलाई नसोधी मेरो घरको दलानमा झन्डा गाडेका छन्, यसले मलाई पनि असर गरेको छ ।”

सर्वसाधरणलाई अहिले राजनीतिक दलले टिसर्ट वितरण गर्न थालेका छन् । सवारी चालक, होटल मजदुरदेखि घर निर्माणमा संलग्न मजदुरलाई समेत राजनीतिक दलले टिसर्ट वितरण गरेको पाइएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!