ऐतिहासिक पाटीपौवा सङ्कटमा

- June 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बेनी म्याग्दी । ग्रामीण क्षेत्रमा सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा परेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा रहेका सयवटाभन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा सङ्कटमा परेको विगत ८ वर्षदेखि जिल्लाका धार्मिकस्थलमा जाने घोडेटो बाटो र बाटोमा पाटीपौवा निर्माण गर्दै आउनुभएका दरबाङका बमबहादुर शेरपुञ्जाले बताउनुभयो ।

उहाँका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारका रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पौवा लोप भइसकेका छन् ।

मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको भगवती मन्दिर संरक्षण समिति ताकमका बुद्धिप्रसाद सुवेदीले बताउनुभयो । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उहाँको गुनासो छ ।

‘ग्रामीण पहिचान झल्काउने पाटीपौवा अहिले उपभोग हुन नसकेपनि भविष्यमा यसको महत्व हुनसक्छ’ राहुघाट क्षेत्रको विभिन्न स्थानमा तीर्थयात्रीको सुविधाका लागि पाटीपौवा निर्माण गरिदिनुभएका शेरपुञ्जाले भन्नुभयो ।

पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटलहरू थिएनन् । पाटीपौवामा बास बस्ने चलन थियो । शेरपुञ्जा भन्नुहुन्छ, “ठाँटीमा बास बस्ने चलन हराएपनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।” रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!