गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन

- May 30, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ ।

प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सम्पन्न कोषको बैठकले सो निर्णय गरेको हो ।बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई सहभागी गराई ‘गरिबी निवारण, व्यावसायिक विकास तथा समृद्धि’ विषयमा प्रदेशस्तरीय गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी कोषको आगामी रणनीति तयार गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य तथा गरिबी निवारण कोषका प्रतिनिधि सदस्य सचिव रहेको एक कार्यदल समेत गठन गरेको छ । कार्यदललाई रणनीतिक प्रतिवेदन तयारीका लागि एक महिनाको समय तोकिएको छ ।

बैठकले मुलुकका हिमाली तथा नेपाल–तिब्बत् सीमा क्षेत्रका जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न चीन सरकार तथा एसियन पूर्वाधार लगानी बैंकलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

कोषले गाउँपालिका र नगरपालिकामा गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, कोषलाई बहुउद्देश्यीय र विविधिकरण गर्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कोषका अध्यक्ष दाहालले कोषको कामलाई औपचारिक दायराबाट माथि उठाएर प्रभावकारी बनाउन र लक्षित वर्गको जीवनस्तरमा परिवर्तनको अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो । बैठकले सरकारले आव २०७४÷७५ मा कोषका लागि विनियोजन गरेको रु एक अर्ब ६८ करोड ७६ लाख ६५ हजार बजेटलाई अनुमोदन गरेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!