अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

- May 30, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काँकडभिट्टा झापा । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ । झापामा कुल मतदान स्थान २८३ छन् । तिनमा ६५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । तीमध्ये १२७ केन्द्रलाई अति संवेदनशील र ५०१ केन्द्रलाई संवेदनशील भनिएको छ । सत्ताइस मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ ।

प्रहरी नायब उपरीक्षक हरि शर्माले सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा झापाका मतदान केन्द्र सुरक्षाका दृष्टिले वर्गीकरण गर्दा बढी संवेदनशील देखिएको बताउनुभयो । “बोर्डर एरिया भएकाले अधिकांश मतदान केन्द्र संवेदनशील देखिए पनि अन्य तराईका जिल्लाको तुलनामा झापा जिल्लाको अवस्था हालसम्म सामान्य छ” शर्मा भन्नुहुन्छ ।

संवेदनशीलताका आधारमा चुनावमा सुरक्षाकर्मीको परिचालन हुने शर्माको भनाइ छ । उहाँले चुनावका लागि भनेर सैनिक मुख्यालयबाट आज बिहान मात्र थप ४०० सुरक्षाकर्मी आइसकेको बताउनुभयो । चुनाव हुन एक साताअघिसम्म थप सुरक्षा बल झापा आइपुग्ने बताइएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!