मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन

- May 29, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ ।आयोगको आजको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहनुभएको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो ।

टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहनुभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

टोलीलाई घटनाको छानबिन गरी यही जेठ १७ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

टोलीले स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र राजनीतिक दलसँगसमेत छलफल गरी प्रतिवेदन पेस गर्नेछ ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं १९ को एक हजार ८०९ मतगणना पूरा भई बाँकी मतगणना भइरहँदा मतगणना प्रतिनिधिमध्ये केहीले मतगणनास्थलमा प्रवेश गरी मतगणना भएका र नभएकासमेत सयौँ मतपत्र च्यात्ने काम गरेको आयोगलाई जानकारी गराएको थियो ।

हिजो राति ११ः५५ बजे मतगणना स्थलमा असामान्य अवस्था सिर्जना उत्पन्न भई तत्काल मतगणना कार्य स्थगन गर्नुपरेको व्यहोराको प्रतिवेदन मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाउनुभएको थियो ।

उक्त महानगरपालिकाका २९ वडामध्ये २७ वडाको मतगणना सम्पन्न भइसकेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणू दाहाल र नेकपा९एमाले०का देवी ज्ञवालीबीच उक्त महानगरपालिकाको प्रमुख पदमा निकै कडा प्रतिस्पर्धा रहँदै आएको छ । भरतपुर नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका साथ नियाल्दै आएका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!