टाउकोमा कालोचस्मा…………………………?

- May 29, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बबिता बस्नेत

मुलुकमा भर्खरै पहिलो चरणको स्थानीय निर्वाचन सकिएको छ, सरकारले आपराधिक मुद्दालाई समेत आममाफीमा समावेश गर्न लागेको चर्चा अर्कोतिर छ, दोस्रो चरणको निर्वाचन आउँदै छ, प्रधानमन्त्री फेरिने बेला भएको छ, कुराहरू धेरै छन् । मुलुकमा यत्तिका धेरै विषय भएका बेला यो कालोचस्माको कुरा कहाँबाट आयो रु धेरैलाई यस्तो लाग्न सक्छ । स्थानीय निर्वाचनमा जितेका केही जनप्रतिनिधिले टाउकोमा कालोचस्मा लगाएका तस्बिरहरू भटाभटी आउन थालेपछि यही विषयमा केही लेखुँ जस्तो लाग्यो । मानिसले चस्माको प्रयोग दुईवटा अवस्थामा गर्छन् । पहिलो, आँखामा समस्या आएर, दोस्रो आँखामा प्रत्यक्ष घाम नपार्न अर्थात् शीतलताका लागि । आँखामा समस्या या शीतलता कारण जे भए पनि यी दुवै प्रयोजनका लागि थरी–थरीका ब्रान्ड र आकारप्रकारका चस्मा बजारमा पाइन्छन् । सोसियल मिडिया हेर्दा अहिले शीतलवाला चस्माको प्रयोग धेरै नै देखिन्छ । कतिले त कोठाभित्र पनि कालोचस्मा लगाएरै खिचेका फोटोहरू सार्वजनिक गरिरहेका हुन्छन् । यसरी हेर्दा चस्मा अहिले महिला, पुरुष, तेस्रोलिङ्गी सबैका लागि अनिवार्य फेसनझैँ पनि बनेको देखिन्छ ।

केही समयअघि भैरहवामा एउटा कार्यक्रमको सहजीकरण गर्दै गर्दा एक सहभागीले दिनभरि टाउकोमा कालोचस्मा राखेको देखेँ । उनी कार्यक्रम हलभित्र छिर्दा नै चस्मा टाउकोमा थियो । बिहानदेखि साँझसम्म कोठाभित्र बस्दा टाउकोमा चस्मा देखेर कस्तो–कस्तो लाग्यो । लाउने–खानेजस्तो नितान्त व्यक्तिगत स्वतन्त्रता र रोजाइको कुरामा झट्ट प्रतिक्रिया दिने कुरा पनि भएन । भोलिपल्ट पनि सोही क्रम दोहोरिएपछि सोधेँ– तपार्इंले किन टाउकोमा चस्मा लाउनुभएको रु उनले त्यसो गर्ने आफ्नो बानी नै परेको कुरा सहज रूपमा भनिन् । बजारमा निस्कँदा पनि केही महिलाको टाउकोमा चस्मा देखियो । विभिन्न जिल्लामा मात्र होइन, काठमाडौंमा पनि धेरैको टाउकोमा चस्मा देखिन्छ ।

पावरवाला चस्मा कसले लाउने कसले नलाउने निश्चित भए पनि शीतल ९प्रायः कालो लगाउने चलन छ० चस्मा जसले लाए पनि हुन्छ । तर, कहाँ, कस्तो बेलामा, कसरी भन्नेचाहिँ बुझ्नु आवश्यक हुन्छ । कतिपय यस्तो अवस्था हुन्छ जहाँ कालोचस्मा नलगाएकै वेश । दुःख परेको ठाउँमा, सुकुम्बासी बस्तीमा, आपत्विपत् परेको परिवार या गाउँलगायतका ठाउँमा जाँदा आँखामा आँखा जुधाएरै कुरा गरेको राम्रो । राष्ट्रपति विद्या भण्डारीले भूकम्पपछि गोरखाको बारपाकमा पीडितहरूका सामु कालो चस्मा लगाएर भ्रमण गर्दा अलि अप्ठ्यारो महसुस भएको थियो, कतिले यसलाई लिएर भित्रभित्रै आलोचना पनि गरे । त्यसअघि उहाँको आँखामा कालोचस्मा कहिल्यै देखिएको थिएन, अहिले भने प्रायः सार्वजनिक समारोहहरूमा जाँदा कालोचस्मा नै लाएको देखिन्छ । ‘हाई प्रोफाइल’हरूले कालोचस्मा लाउन नमिल्ने होइन, तर कलाकारले झैँ जहाँ पनि लाउनुलाई भने राम्रो मानिँदैन । एकपटक राजा वीरेन्द्र र रानी ऐश्वर्यको पूर्वाञ्चल भ्रमणका बेला रानी ऐश्वर्यले लगाएको कालोचस्मालाई लिएर सर्वसाधारणले रानीको आँखा पाकेको रहेछ त्यसैले यस्तो धुम्मिएको जाडो दिनमा पनि चस्मा लगाएकी थिइन् भनेर चर्चा गरेका थिए । त्यतिबेला रानीले फेसनका लागि लगाएको भनेर नबुझेका कारण त्यस्तो प्रतिक्रिया आएको थियो भन्न सकिन्छ । त्यसरी भ्रमणमा जाँदा आफ्ना राजारानीसँग सर्वसाधारणले ‘आइ कन्टयाक्ट’ गर्न पाएका भए त्यसले छुट्टै महत्व राख्ने थियो । राजाले भने घरी चस्मा लाउँदै घरी निकाल्दै गर्नुभएको थियो ।
जतिबेला पनि कालोचस्मामा देखापर्नेमा भीभीआईपीका सुरक्षाकर्मीहरू हुन्छन् । कसले कता हेरिरहेको भन्ने कुराको जानकारी राख्न र आफूले कता हेरिरहेको छु भन्ने अरूले थाहा नपाउन् भन्ने उद्देश्यले उनीहरूले कालोचस्मा लगाएका हुन् । तिनको कालोचस्मा सुरक्षा रणनीतिअन्तर्गत नै पर्दछ । कोठाभित्र रहँदा पनि उनीहरू भीभीआईपीको वरिपरि कालोचस्मामै हुन्छन् । तर, भीभीआईपीहरूले भने सर्वसाधारणसँग कुरा गर्दा चर्को घाममै भए पनि चस्मा नलगाई गरेको राम्रो मानिन्छ । आँखाको भाषा र प्रतिक्रियाको महत्व मानवजीवनमा ठूलो छ । बोलीको भन्दा आँखाको प्रतिक्रिया जीवन्त हुन्छ । आँखाहरूले झुट बोल्दैनन् पनि भनिन्छ । मानवजीवनको पाँच इन्द्रीयमा आँखालाई अध्यात्मिक इन्द्रीयको रूपमा लिइन्छ । आँखामा आँखा मिलाएर कुरा नगर्ने मान्छेलाई सामान्यतया विश्वास नगर्नु पनि भनिन्छ ।

जसले लगाए पनि चस्मा यसैगरी लगाउनुपर्छ भन्ने खास नियम छैन, तैपनि खुला ठाउँबाट भित्र पस्नु तीस सेकेन्डअघि चस्मा खोल्नु सभ्य मानिन्छ । कक्षाकोठा होस् या समारोह हल या कार्यालय सबै यसभित्र पर्छन् । आमसभाहरूलाई सम्बोधन गर्दा कालो चस्मा लाउनु राम्रो मानिँदैन । टाउकोमा राख्ने त झन् कुरै भएन । लन्डनमा पढेकी इन्दिरा गान्धीले कहिल्यै पनि कालोचस्मा लगाएर सार्वजनिक समारोहलाई सम्बोधन गरिनन् । अरूबेला कालोचस्मा लगाए पनि सर्वसाधारणसँगको भेटघाटमा उनी कालोचस्मा लगाउँदिनथिइन् भनिन्छ । मार्गरेट थ्याचरका पनि कालोचस्मा लगाएका तस्बिरहरू खासै सार्वजनिक भएनन् । बिल क्लिन्टन हुन् या हिलारी सकेसम्म सार्वजनिक समारोहमा पुगेपछि आँखाबाट चस्मा निकालेर खल्ती या ब्यागमा हालेरै सभाहरूलाई सम्बोधन गर्थे, गर्छन् । कलाकारलाई छाडेर सार्वजनिक जीवनमा भएका व्यक्तित्वहरूले टाउकोमा चस्मा राखेको बिरलै देखिन्छ । बाहिर चस्मा लगाए पनि भित्र छिर्नुअघि नै खोलेर ब्यागमा राख्नुलाई सभ्य मानिन्छ । केटाहरूले ब्याग नबोक्ने हुँदा उनीहरू प्रायः खल्तीमा या सर्टको टाँकमा अल्झाएर छातीमा सिउरिन्छन् । त्यसो त, क्यापमाथि या टाउको पछाडि चस्मा राख्ने पुरुषहरू पनि नदेखिने होइनन्, तर ती बिरलै हुन्छन् । सार्वजनिक जीवनमा भएका पुरुषहरूले पनि टाउकोमा चस्मा राख्नुलाई राम्रो मानिँदैन । यसको अर्थ टाउकोमा चस्मा लाउनै नमिल्ने भन्ने होइन, तर टाउकोमा चस्मा राख्नुलाई ‘अफिसियल’ मानिँदैन । आँखाबाट झिकेर झोला या खल्तीमा हाल्नुभन्दा टाउकोमा राख्नु सजिलोचाहिँ हो, तर हेडबिनजस्तै गरी चस्माको प्रयोग त्यति राम्रो भने मानिँदैन ।

जनप्रतिनिधिहरूको उठबस प्रायः सर्वसाधारणसँग हुन्छ, हुनुपर्छ । सर्वसाधारणको आँखामा आँसु या ओठमा मुस्कान हेर्नका लागि सकेसम्म खुला आँखा प्रयोग गर्नु राम्रो हुन्छ । राजधानीलगायत धेरै ठाउँ अहिले धुलाम्य छन्, आँखा जोगाउन जोसुकैले पनि चस्माको प्रयोग नगरी धरै छैन । तर, मानिसहरूसँग बोल्ने बेलामा, खुला स्थानमै किन नहोस् भेटघाटका बेलामा चस्मा लाउनु या टाउकोमा राख्नु दुवै राम्रो होइन । जनप्रतिनिधिले सर्वसाधारणसँग मात्र होइन, विभिन्न देशका कूटनीतिज्ञहरूसँग पनि भेटघाट र कुराकानी गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा कसरी बोल्ने रु हात कसरी मिलाउने रु कसरी खाने रु जस्ता ससाना कुराले जसरी फरक पार्छ त्यसैगरी चस्माले पनि फरक पार्छ । चस्मा टाउकोमा राख्ने कुराचाहिँ सकेसम्म नगरेकै राम्रो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!