चेम्बरद्वारा राजदूतसँग द्विपक्षिय आर्थिक विषयमा छलफल

- May 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रीलंका, बंगलादेश र म्यानमारका लागि नेपाली राजदूतसँग द्विपक्षिय आर्थिक विषयमा केन्द्रीत भएर छलफल गरेको छ । चेम्बरले श्रीलंका, बंगलादेश र म्यानमारसँग आर्थिक सम्बन्ध स्थापित गर्ने विषयमा राजदूतहरुसँग अन्तरकृया गरेको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
श्रीलंकाका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलले नेपालले श्रीलंकाका पर्यटकलाई नेपाल भित्रिने वातावरण निर्माण गर्नुपर्ने विषयमा सरकार गम्भीर हुनु पर्ने बताएका छन् । उनले भने,‘नेपालमा यो वर्ष ७ लाखको हाराहारीमा पर्यटकहरु भित्रिएका छन्, तर, श्रीलंकाका ७ प्रतिशत मात्र पर्यटक भित्रिए ।’
नेपालबाट श्रीलंकाको सिधा हवाइ सम्बन्ध नभएको र नेपाल र श्रीलंकाको सिधा हवाइ सम्बन्ध स्थापित गर्न सके श्रीलंकाली पर्यटक नेपाल भित्रिने वातावरण निर्माण हुने प्याकुरेल बताउँछन् । श्रीलंकाका जनता बौद्ध धर्ममा विश्वास राख्छन, नेपाल गौतम वृद्धको जन्मभूभि भएकाले श्रीलंकालीले घुम्नु पर्ने देशमध्ये नेपाल उत्कृष्ट गन्तव्य रहेको प्याकुरेलेको दाबी रहेको छ ।   यस्तै म्यानमारका लागि नेपाली राजदूत भीम उदासले म्यानमार ३ लाख नेपालीभाषी बस्ने भएकाले उनीहरुलाई नेपाली संस्कृतिका माध्यमबाट आकर्षण गर्नुपर्ने बताए । ‘म्यानमार ३ लाख नेपाली भाषीको देश हो, नेपाली संस्कृतिको महत्वबारेमा जानकारी दिएर उनीहलाई आकर्षित गर्नुपर्ने हुन्छ,’ उदासले भने ।

नेपाली संस्कृतिको महत्वबारेमा म्यानमारका जनतालाई जानकारी गराउनका लागि नेपाल हाउसहरु स्थापित गर्नुपर्ने उदास बताउँछन्। ‘२ दशकपछि नेपाल र म्यानमारको हवाई सम्बन्ध जोडिएको छ, यो सम्बन्धलाई जोगाउनु पर्ने हुन्छ,’ उदासले भने। बंगलादेशका लागि नेपाली राजदूत डा। चोपलाल भुसालले बंगलादेशले हासिल गरिरहेको व्यापारिक सफलताबाट नेपालले शिक्षा लिनुपर्ने बताए।

‘सन् २०१२ सम्म नेपाल र बंगलादेशको व्यापार समान थियो, हाल नेपालको बंगलादेशसँग ७ अर्ब रुपैयाँको व्यापार घाटा छ,’ भुसालले भने । संसारभर आफ्नो प्रभुत्व फैलाएको चीनमा समेत बंगलादेशले उत्पादन बिक्री गर्ने गरेको उनले बताए । चेम्बरका अध्यक्ष श्रेष्ठले राजदूतहरुले आर्थिक सम्बन्ध स्थापित गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न सहयोगी भूमिका निर्वाह गर्नु पर्ने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!