गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

- May 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बैतडी, । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक ३० भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको डा दिलीप जोशीले जानकारी दिनुभयो ।वैशाख महिनादेखि अस्पतालमा आउने बिरामीमध्ये अधिकांश झाडापखालाका बिरामी आउने गरेका छन्, उहाँले भन्नुभयो – “तीमध्ये बालबालिका बढी प्रभावित भएका छन्”, अस्वस्थ खानपान र दूषित खानेपानीका कारण झाडापखालाका बिरामी बढेको डा जोशीले बताउनुभयो ।

यस्तै पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा पनि गएको वैशाख महिनादेखि झाडापखालाका बिरामी बढेको डा नवीन्द्र ढकालले जानकारी दिनुभयो । जिल्लाको न्वालीलगायतका क्षेत्रमा झाडापखाला देखिएको छ ।

यसैबीच गर्मीयाममा विभिन्न किसिमका सरुवा रोग लाग्ने भएकाले सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । बैतडीमा अहिले झाडापखालाका बिरामीको सङ्ख्या बढेकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

झाडापखाला, आउँ, हैजाजस्ता सरुवा रोग सरसफाइको कमीले लाग्ने भएकाले सबैले सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!