निर्वाचनका कारण रगत अभाव

- May 19, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भरतपुर । निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ ।रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो ।अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौंँ ।”

सो अस्पतालले सबैलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । आज बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो । सो क्रममा ४१ जनाले रक्तदान गरेको अस्पतालका अध्यक्ष प्राडा अर्जुन श्रेष्ठले बताउनुभयो ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलका अनुसार जिल्लामा दैनिक एक सयदेखि १५० युनिटसम्म रगत आवश्यक पर्छ । गत वर्ष ३५ हजार युनिट रगत प्रयोग भएको थियो । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि बढी रगत आवश्यक पर्छ ।

जिल्लामा युवाद्वारा गठित “युथ फर ब्लड” समूहले रक्तदाता खोजेर रगत उपलब्ध समेत गराउँदै आएको छ । अन्य समयमा अरु जिल्लाबाट रगत ल्याएर परिपूर्ति गर्ने गरेको भए पनि यस पटक यस क्षेत्रका सबै जिल्लामा निर्वाचन भएकाले अन्यत्रबाट रगत ल्याउन नपाएको पौडेलले बताउनुभयो ।

यसैबीच भरतपुरको मनकामना अस्पतालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा तीन दिनयता निःशुल्क ओपिडि सेवासमेत सञ्चालन गर्दै आएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!