धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

- May 16, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

फलेवास पर्वत । धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ ।स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती अहिले गौचरणमा परिणत भएको हो ।उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन नसकेको जिल्ला समन्वय समिले जनाएको छ । साविकको फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ मा दलित समुदायको आयआर्जन बढाउने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले चियाखेतीको सम्भाबना थियो ।

आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएर स्थानीयवासीलाई चियाखेती विस्तारमा हौसला दिए पनि स्थानीवासीको बेवास्ताका कारण चिया बगान अस्तव्यस्त बनेको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले बताउनुभयो ।

‘दलित समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको हो’ उहाँले भन्नुभयोे “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको छैन” एक हजार ८०० मिटरको उचाइमा रहेको फलामखानी गाविसलाई चियाखेतीको पकेटक्षेत्र बनाउने गरी पाँचवर्ष अगाडि २० हजार चियाका बिरुवा रोपिएको थियो ।

नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा जिविसले झन्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो । साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयवासीले संरक्षण नगर्दा नष्ट भए पनि वडा न ७, ८ र ९ मा भने बिरुवा अझै जीवितै छन् । सुवेदी भन्नुहुन्छ–“यस क्षेत्रमा चियाखेती सफल हुने लक्षण देखिएको छ ।” स्थानीय डाडाँकटेरी क्षेत्रमा हालसम्म रोपिएका बिरुवा छन् तर ती बिरुवालाई संरक्षण गर्ने अभियानमा भने स्थानीयवासीको चासोे छैन ।
अरुले गरिदिने आशमा मात्र बस्ने नेपालीको पुरानो प्रचलन भएका कारण स्थानीयवासीमा संरक्षण सम्बन्धी चेतना पलाउन छैन भने जिल्ला समन्वय समितिले गोडमेलका लागि तालिम प्रदान गर्नुका साथै बजेट विनियोजन गरेको छ तर स्थानीयवासीले बजेट ल्याउने र चिया बगानको संरक्षण गर्नमा हालसम्म पनि चासो नदेखाएको सामाजिक विकास अधिकृत सुवेदीले दुःख व्यक्त गर्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!