सरकारले प्रविधिलाई प्रयोग गर्न नजान्दा लाखौ जनता मतदानबाट बन्चित

- May 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पत्रकार, सुरक्षाकर्मी, डक्टर, कैदीबन्दी, म्यादी प्रहरीर अन्य २४ सै घण्टा सञ्चालन हुने कार्यलयमा कार्यरत कर्मचारीहरुले पनि आफ्नो मत खसाल्नबाट बन्चित हुनु परेको छ

-रोशन कार्की (कुल)

काठमाडौं  । स्थानीय तहको पहिलो तथा दोस्रो निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुनु परेको छ । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था सरकारले गर्न नसक्दा पटक/पटक लाखौं नेपाली मतदाताहरु आफ्नो अमुल्य मत दिनबाट बन्चित हुनु परेको छ । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । बैसाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

तर, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेका नेपालीले स्थानीय मतदान गर्न पाउने छैनन् ।
स्थानीय निर्वाचनमा निजामती कर्मचारी एक लाखभन्दाबढीको संख्यामा खटिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले यसअधिकै पत्रकार सम्मेलनमा बताएका थिए । एक मतदान केन्द्रमा पाँच कर्मचारी खटिने र मतदाताको संख्यालाई हेरी थपघट समेत गरिने भएको छ । यसरी निर्वाचनमा परिचालित कर्मचारीले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने छैनन् । निर्वाचनमा पहिलो घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीले पाएको छ ।

प्रत्यक्ष रूपमा निर्वाचनमा नखटिने सुरक्षाकर्मीले पनि मतदान गर्न पाउने छैन । निर्वाचनमा सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी पनि मतदानको अवसरबाट वञ्चित हुने भएका छन् । निर्वाचन प्रयोजनका लागि देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको छ । निर्वाचनमा दोस्रो घेरामा रहेर सुरक्षा दिने जिम्मा सशस्त्र प्रहरी बलको जिम्मामा दिइएको छ । सशस्त्र प्रहरीमा ३७ हजार रहेको छ । यो जनशक्ति सबैले मतदानको अवसर पाउनेछैन । निर्वाचनमा खटिने बाहेक अन्य सुरक्षामा पनि परिचालित हुने भएकाले उनीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् । नेपाली सेना पनि स्थानीय तहको निर्वाचनमा खटिनेछ । तेस्रो घेरामा नेपाली सेना निर्वाचन सुरक्षामा खटिने भएकाले सेनाले पनि आफ्नो मतदानबाट बन्चित हुनु पर्ने भएको छ ।

तर, निर्वाचन सुरक्षामा खटिने बाहेकका सैनिक पनि अन्यत्र सुरक्षामा रहने भएकाले उनीहरू मतदानबाट वञ्चित हुनेछन् । नेपाली सेनाको संख्या ९० हजारको हाराहारीमा छ । रोजगारीका लागि बिदेसिएका नेपाली पनि स्थानीय निर्वाचनमा सहभागी हुनबाट बन्चित भएका छन् । संविधानसभा निर्वाचनको वेला समानुपातिकतर्फको मतदानमा सहभागी हुन पाएका कैदीबन्दीले स्थानीय निर्वाचनमा भने मत दिन नपाउने भएका छन् । मुलुकका विभिन्न जेलमा करिब २५ हजार कैदीबन्दी छन् । सरकारले निर्वाचनलाई लक्षित गरि कोही नेपाली नागरिक मतदानबाट नछुटुन भनेर जतिनै प्रचारप्रसार गरेपनि लाखौको संख्यामा रहेका नेपालीहरुले मत खसाल्न नपाउने भएका हुन ।

पछिल्लो समयमा बिकसित हुदै गएको प्रविधिलाई सरकारले प्रयोग गर्न नजान्दा रोजगारीमा गएका नेपाली र काम विशेषले स्वदेशमै रहेका मतदाताले समेत आफ्नो मत राख्नबाट बन्चित हुनु परेको हो । यसैगरि, ठूलो सख्यामा पत्रकार, डक्टर र अन्य २४ सै घण्टा सञ्चालन हुने कार्यलयमा कार्यरत कर्मचारीहरुले पनि आफ्नो मत खसाल्नबाट बन्चित हुनु परेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!