मोरङमा औलो रोगी घटे

- April 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर। मोरङमा औलो रोगीको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ ।सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कीटनाशक औषधि छर्कने, निःशुल्क औषधि वितरण र औलो रोगविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रमका कारण सो रोगको प्रभाव क्रमिक रुपमा घट्दै गइरहेको हो ।मोरङमा २०७०÷०७१ मा २० जनामा औलो रोग फेलापरेको थियो भने क्रमिक रुपमा घट्दै गत आवमा मात्र सातजना सो रोगबाट पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जनाएको छ ।यस जिल्लाको मधुमल्लामा तीनजना, कोसी–हरैचा नगरपालिकामा दुईजना र बेलबारी र विराटनगरमा एक–एक जना रोगी फेलापरेको सो कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराउनुभयो ।
एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गरेको जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीले जानकारी गराउनुभयो । उहाँले सो रोगबाट पीडित व्यक्तिको परिवारको सम्पूर्ण सदस्यका साथै आसपासका परिवारका सदस्यको समेत रगत परीक्षण गर्ने गरिन्छ ।

रोग फैलिन नदिने उद्देश्यले प्रभावित क्षेत्रका व्यक्तिको रगत परीक्षणका साथै वर्षमा दुई पटक कीटजन्य औषधि छर्कने गरिएको उहाँले थप्नुभयो ।यसैबीच, विश्व औलो दिवसको अवसरमा आज बिहान जिल्ला जनस्वास्थ्य कार्यालयले जनचेतना फैलाउने उद्देश्यले विराटनगरमा प्रभातफेरी गरेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!