स्वास्थ्य केन्द्रको छानो उडाउँदा समस्या

- April 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोलुखुम्बु । हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ ।सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिनुभयो । करिब एक दशकअघि निर्माण भएको सो भवनबाट बिरामीका लागि ओपिडी सेवासँगै एक्सरे सेवा, प्रसूति सेवा, सामान्य शल्यक्रियालगायतका उपचार प्रदान गरिँदै आएको थियो ।नियमित डाक्टरको उपस्थिति र आधुनिक उपकरणबाट उपचार सुरु भएकाले बिरामीको चाप बढिरहेका बेला हावाले छानो नै उडाउँदा उपचार सेवा प्रभावित भएको छ । छानो उडाएपछि पानी पसेर उपकरण बिग्रने डरले पाल ओढाएर राखिएको छ । एउटा कोठामा पाल ओढाएर त्यहीँबाट उपचार सेवा दिइरहेको भएपनि प्रभावकारी सेवा प्रवाहमा समस्या भएको डा शाहको भनाइ छ ।जिल्लाकै बढी जनघनत्व रहेको नेचासल्यान गाउँपालिकाअन्तर्गतको सो प्राथमिक सेवा केन्द्रको दैनिक १०० को हाराहारीमा बिरामी पुग्ने स्वास्थ्य केन्द्रले जनाएको छ । आजभोलि रुघाखोकी तथा झाडापखालाका बिरामीसमेत बढिरहेकाले झनै समस्या भएको डा शाहले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!