फर्केर हेर्दा २०७३ : पर्यटनका लागि उत्साहपूर्ण, विद्युत्भार कटौती, अन्धकारबाट उज्यालोतिर

- April 13, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो ।

वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए ।

त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो । आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कञ्चन्जङगा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

महोत्सवको अवसरमा विश्वचर्चित जुनको तावेइलगायत आरोहीको नेपाल आगमन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीको जमघटले नेपालको पर्वतीय पर्यटनको सकारात्मक सन्देश पुग्यो ।

त्यस्तै गत मे २९ २०१६ मा मनाइएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा विश्वभरका आरोहीको आवागमनले थप उत्साह जगायो । पोखरामा सम्पन्न विश्व शान्ती पूजामा विश्वभरबाट आएका पाहुनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो ।

नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा देश तथा विदेशमा गरेका विभिन्न कार्यक्रमले पनि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । साथै बोर्डले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न चर्चित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, रोयटर र ट्रिप एडभाइजरसँग गरेको साझेदारीले वर्षको उत्तरार्धमा थप सकारात्मक सन्देश गयो ।

यसैगरी गत चैत २५ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ‘ए’ ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग खरिद सम्झौता गरेको छ । नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चेर एकै पटक विमान खरिद गरेको यो पहिलो पटक हो । यसले नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदा पर्यटन व्यवसायी झन उत्साहित भएका छन् ।

अर्कोतर्फ सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ का कारण आन्तरिक पर्यटनप्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्यो । यसरी एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गतिविधि, गन्तव्य प्रवद्र्धनका नयाँ प्रयास, पर्यटन सेवाको विविधिकरण र सेवा विस्तारको तीव्रताले २०७३ साललाई उपलब्धिमूलक बनायो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटनको हिसाबले २०७३ साल उत्साहजनक रहेको र यस वर्ष पर्यटकको सङ्ख्यामा ४० प्रतिशतले वृद्धि भएको बताउनुहुन्छ ।

घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो उपलब्धि हासिल गरेको र पर्यटक आवागमन बढको उहाँको बुझाइ छ । प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रता र हालै एनएसीले दुई बाइड बढी विमान खरिदका लागि गरेको सम्झौताले वर्ष २०७३ लाई निकै उपलब्धिमूलक बनायो । त्यस्तै पुरातात्विक सम्पदाको पुनःनिर्माणको तीव्रताले पर्यटन क्षेत्रमा थप उत्साह थपेको उहाँको भनाइ छ ।

मुलुकको अर्थतन्त्रको मूलआधार मानिने पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण बन्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै अहिले उल्लेख्य रुपमा आरोही र पदयात्री आइरहनुले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका छन् ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा पनि भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा नेपालको पर्यटन क्षेत्रले निकै राम्रो पुनरुत्थान गरेको बताउनुहुन्छ । यस वर्ष गरिएको चर्चित अन्तर्राष्ट्रिय ‘इभेन्ट’ पर्यटन प्रवद्र्धनका नयाँ आयाम आदिले पर्यटनमा नयाँ उत्साहज जगाएको उहाँको भनाइ छ ।

मुलुकको पर्वतीय पर्यटनमा वर्षको सुरुमै उत्साहजनक नतिजा देखिएकोमा यस पटक पनि धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि आएका छन् । यस वर्षको वसन्त ऋतुमा आठ सयदेखि नौ सय स्वदेशी तथा विदेशी आरोही हिमाल आरोहणमा जाने अध्यक्ष शेर्पाले बताउनुभयो ।

पदयात्रा पर्यटनका लागि पनि २०७३ साल निकै उपलब्धिमूलक र उत्साहजनक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्र रिजाल बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष पदयात्रामा कुनै अप्रिय घटना भएनन् । थुप्रै पदयात्री गन्तव्यमा पुगे । पदयात्रामा समेत आन्तरिक पर्यटन प्रबद्र्धन भयो । अध्यक्ष रिजाल २०७३ हालसम्मकै उत्साहजनक वर्ष भएको दाबी गर्नुहुन्छ ।

वर्ष २०७३ मा मुलुकको होटल व्यवसायले निकै प्रगति हासिल गरेको पाइयो । पर्यटकीय याममा बुकिङ राम्रो भएका कारण पर्यटक बढ्ने होटल एसोसिएसन नेपाल९हान०का महासचिव विनायक शाह बताउनुहुन्छ ।

हानको विवरण अनुसार होटलमा हाल ३८ हजार सुविधायुक्त वेड रहेका छन् । अझै थपिने क्रम जारी छ । सन् २०२० सम्ममा चार हजार अन्तराष्ट्रियस्तरका सुविधायुक्त वेड थपिदैछन् । होटल व्यवसायमा लगानी पनि बढेको छ । काठमाडौँलगायत मुख्य सहरमा उत्साहपूर्ण लगानी रहेको हानले जनाएको छ ।

विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष ९सन् २०१६० मा सात लाख २९ हजार पर्यटक नेपाल घुम्न आएका छन् । अहिलेसम्म सबैभन्दा बढी सन् २०१२ मा आठ लाखको हाराहारीमा पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो ।

सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो ।

सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो । तर उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका कारण आहात थिए । सरकारको उक्त चर्चालाई धेरैले हावादारी भन्दै उडाएका थिए । दैनिक मैनबत्ती किन्नुपर्ने बाध्यता एकातिर थियो भने मोबाइल फोन चार्ज गर्नसमेत कति बेला बिजुली आउँछ भनेर कुर्नुपर्ने बाध्यता थियो ।

समय बदलियो, सरकार परिवर्तन भयो, नागरिकका आशा पनि बदलिए । गत साउन २० गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । सरकारले ऊर्जा मन्त्रालयको जिम्मा जनार्दन शर्मालाई दियो । शर्मा सार्वजनिक लेखा समितिको सभापतिको भूमिकामा रहेर मुलुकको ऊर्जा क्षेत्रको समस्याका बारेमा जानकार हुनुहुन्थ्यो । प्रधानमन्त्री भएकै दिन दाहालले विद्युत्भार कटौतीकोे अन्त्य र उज्यालो नेपालको परिकल्पना नै सरकारको महत्वपूर्ण कार्यभार भएको घोषणा गर्नुभयो ।

सरकारले उज्यालो नेपाल अभियानको घोषणा त ग¥यो, कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्ले हुनुहुन्थ्यो । उहाँको कार्यशैलीका बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणी नै बढी हुने गरेको थियो ।

केही नयाँ काम गर्ने लक्ष्यका साथ ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पुगे पनि प्राधिकरणको नेतृत्वबाट काम नहुने देखेपछि ऊर्जामन्त्री शर्मा गत भदौको दोस्रो साता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्नुभयो । प्रसङ्ग अरू थिएन, प्राधिकरणका कार्यकारी प्रमुख रहेका काफ्लेलाई हटाएर सो स्थानमा कुलमान घिसिङलाई ल्याउने । ऊर्जामन्त्री शर्माले केही समय पहिले पत्रकारसँगको अनौपचारिक छलफलमा भन्नुभएको थियो, “सभापति देउवाले हटाउनुस् काफ्लेलाई भन्ने वचनले नै काम ग¥यो ।”

गत भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुनुभयो । प्राधिकरणको उच्च कर्मचारीमध्ये वरियतामा एघारौँ नम्बरमा रहनुभएका घिसिङको नियुक्तिलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरु स्वीकार गर्न तयार भएनन् । त्यसमध्ये केही त सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगे ।

घिसिङलाई कार्यकारी बनाउनुभन्दा पहिल्यै प्रधानमन्त्रीको नेतृत्वमा दर्जनौँ बैठक भए काठमाडौँ उपत्यकामा पहिलो चरणमा कसरी विद्युत्भार कटौती अन्त्य गर्न सकिन्छ भनेर । प्रधानमन्त्री, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री शर्मा, प्राधिकरणको निर्देशकको हैसियतले घिसिङ, ऊर्जाविज्ञ मोहनराज पन्तलगायतको छलफलले एउटा निष्कर्ष निकाल्यो । त्यो निष्कर्ष थियो, काठमाडौँ उपत्यकालाई दसँै आसपासमा नै विद्युत्भार कटौती अन्त्य गर्र्न र जनतामा नयाँ आशाको सञ्चार गराउने । त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट दिने भयो, गृह मन्त्रालयले सुरक्षा प्रदान गर्ने र प्राधिकरणले आवश्यक तयारी गर्ने ।

प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुअगावै सरकारको योजनाअनुसार ऊर्जा मन्त्रालयमा विद्युत्भार प्रेषण केन्द्र, प्राधिकरणका केही अधिकारी र केही ऊर्जा क्षेत्रका जानकारका बीचमा समेत कयौँ पटक छलफल भए । कार्यकारी प्रमुख घिसिङले भार प्रेषण केन्द्रमा बसेर उपत्यकाको माग र आपूर्तिको वस्तुगत प्रतिवेदन तयार पारे । निष्कर्ष निकालियो तीन सय १० मेगावाट विद्युत् साँझमा काठमाडौँ उपत्यकामा ल्याउन सकियो भने विद्युत्भार कटौती अन्त्य गर्न सकिन्छ ।

भदौ २९ गते आधिकारिकरुपमा सरकारले नियुक्त गरेपछि ऊर्जामन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, घिसिङलगायतले चपली सबस्टेसन, बानेश्वर सबस्टेसन तथा काठमाडौँका अन्य सबस्टेसन र प्रसारण लाइनको स्थलगत अवलोकन गरे ।

दसँैलगत्तै अनौपचारिकरुपमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भयो, तर घोषणा भने भएको थिएन । उपभोक्ता ‘के चमत्कार भयो रु बिजुली त जाँदैन त भन्न थालेका थिए । चौबिसै घन्टा विद्युत् पाउनु पनि चमत्कारकै विषय थियो । तिहार लागेपछि प्राधिकरणले अनौपचारिकरुपमा चौबिसै घन्टा विद्युत् उपलब्ध गराउन थाल्यो । तिहारको लक्ष्मी पूजाको दिन घिसिङ साँझ ५ बजेपछि विद्युत्भार प्रेषण केन्द्र स्युचाटार पुगे । साँझ पर्दै गयो, विद्युत् मागको पारो क्रमशः बढ्दै गयो ।

तिहारका कारण एकाधबाहेक उद्योगधन्दा चलेका थिएनन् । विद्युत् माग तीन सय १५ मेगावाट हुँदै तीन सय २० मेगावाटमा पुगेर रोकियो । घिसिङ त्यो दिन सम्झँदै भन्नुहुन्छ, “मलाई असाध्यै डर लागेको थियो । प्रधानमन्त्री, ऊर्जामन्त्रीको कडा निर्देशन थियो । जसरी भए पनि काठमाडौँको विद्युत् कटौती पूर्णरुपमा शून्यमा झार्ने । विद्युत् माग बढ्दै गर्दा म बेचैन भएको थिएँ । साथमा भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठलगायतको टोली साथमा थियो । माग बढ्दा धान्न सकिँदैन कि भन्ने डरले के होला के होला भन्ने लागेको थियो । भार प्रेषण केन्द्रको छतमा बसेर काठमाडौँ उपत्यकालाई हेरँे । जताततै उज्यालो थियो । सबैका घरमा बत्ती बलेको थियो ।” रातको ९ बजेपछि बिस्तारै विद्युत् माग घट्न थाल्यो ।

प्राधिकरणको परीक्षण सफल भएको थियो । ऊर्जामन्त्री शर्माले योजना सफल भएको भन्दै घिसिङ र उहाँको समूहलाई फोन गरेर बधाई दिनुभयो । प्रधानमन्त्रीले ऐतिहासिक सुरुवात भएको भन्दै थप के गर्नुपर्छ सोझै आफू कहाँ आएर भन्न आग्रह गर्नुभयो । अघिल्लो साल मैनबत्ती, जेनेरेटरका भरमा उज्यालोको पर्व दीपावली मनाउने नागरिक विद्युत् पाएर खुसी भए । प्राधिकरणको सफलता राजधानी विद्युत्भार कटौतीमुक्त भन्ने समाचार सार्वजनिक भएपछि मात्रै खुसीको कारण थाहा पाएका थिए नागरिकले । वर्षाकालमा समेत अँध्यारोमा बसेका राजधानीवासी मात्रै होइन यतिखेर मुलुक नै विद्युत्भार कटौतीमुक्त भएको छ ।

औद्योगिक कोरिडोरमा दैनिक चार घन्टा मात्रै विद्युत् कटौती हुने गरेको छ । गत वर्ष १० घन्टा विद्युत् पाउने उद्योगी–व्यवसायीले यस वर्ष दैनिक २० घन्टा विद्युत् पाएका छन् । सरकारले अगाडि सारेका कार्यक्रममध्ये हालसम्म २७ बुँदामा उपलब्धि हासिल गरेको छ ।

आयोजनाबाट कम क्षमतामा विद्युत् उत्पादन गर्ने, उद्योगलाई विद्युत् दिएर उपभोक्तालाई अँध्यारोमा राख्ने, कमिसन लिएर सोलार, इन्भटर र ब्याट्रीको कारोबार गर्नेहरु भने सरकारको निर्णय पछि विरोधमा उत्रिए । तर नेपाल उद्योग वाणिज्य महासङ्घले विद्युत्भार कटौतीको अन्त्य पछि उद्योग व्यवसायमा सुनौलो युग सुरु भएको भन्दै सरकारको पक्षमा वक्तव्य जारी ग¥यो । विरोध गर्ने तैँ चुप मै चुपको अवस्थामा पुगे । यस अवधिमा ‘ऊर्जा सङ्कट तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना २०७२’ कार्यान्वयनका लागि धेरै काम भएका छन् ।

सो अवधिमा ३० मेगावाटको चमेलियाको प्रगति ९८ प्रतिशत पुगेको छ भने १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुने चरणमा छ । सरकारले ‘नेपालको पानी जनताको लगानी’ नाराका साथ आम लगानीकर्तालाई लगानीका लागि अनुरोध गरेको छ । सो अवधारणामा हालसम्म रु पाँच अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

पछिल्लो सात महिनामा प्राधिकरणको आम्दानी रु ६ खर्ब दुई करोड ७२ लाख बढेको छ । चार प्रतिशत चुहावट कम हुँदा रु एक अर्ब २० करोड प्राधिकरणलाई नाफा भएको छ । गत वर्ष रु ११ अर्ब घाटा बेहोरेको प्राधिकरणको हालसम्मको घाटा रु ३७ अर्ब पुगे पनि केही समयभित्रै घाटा पूर्ति गर्न सकिने विश्वास बढेर गएको छ । गत भदौमा प्राधिकरणको वार्षिकोत्सवमा ऊर्जामन्त्री शर्माले घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने घोषणा गर्नुभएको थियो ।

यस्तै सरकारको जोड बलका कारण हालसम्म निजी प्रवद्र्धकले उत्पादन गरेको एक सय ४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । भारतबाट तीन सय ६५ मेगावाट विद्युत् आयात भइरहेको छ । यस्तै कालीगण्डकी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी तथा कुलेखानी पहिलो र दोस्रोलाई साँझको समयमा मात्रै चलाएर पिकिङ लोड धानिएको छ ।

यसैगरी वर्तमान सरकार गठन भएलगत्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन गर्न डिपिआर मस्यौदा तयार भएको छ । लामो समयदेखि विवादमा फस्दै आएको रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारण लाइन सम्पन्न भएको छ । यस्तै न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम सुरु हुने चरणमा पुगेको छ ।

यस्तै सरकारले सुनकोसी, दूधकोसी, ठोसे–खिम्ती–शिवालय, नौमुरे, बबई, नलसिंहगाड, उत्तरगङ्गाजस्ता जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजानका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई रु पाँच अर्ब मुआब्जा वितरण सुरु भएको छ भने नलसिंहगाड जलविद्युत् आयोजनाको डिपिआरको काम पचास प्रतिशतको हाराहारीमा पुगेको उर्जा सचिव उपाध्याय बताउनुहुन्छ ।

यसैगरी चीन, भारत तथा सार्क क्षेत्रका मुलुकको सहयोगमा १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको अध्ययन अगाडि बढाउने तयारी गरिएको छ । खिम्ती–ढल्केबर र हेटौँडा–स्युचाटार प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । ती आयोजना वर्षौंदेखि विवादको भुँमरीमा फसेका थिए ।

एक सय ४० मेगावाटको तनहुँ सेती आयोजनाको निर्माण कार्य अघि बढेको छ । कोसी करिडोर, मस्र्याङ्दी–काठमाडौँ, समुद्रटार–काठमाडौँलगायतका प्रसारणलाइन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विद्युत् सेवा वितरणलाई प्रभावकारी बनाउन स्मार्ट ग्रिड एन्ड मिटरिङ कार्यका लागि बोलपत्र आह्वान भइसकेको छ ।

त्यसैगरी विद्युत् उत्पादन तथा राष्ट्रिय प्रसारण ग्रिड स्थापना भई प्रमुख कार्यकारी अधिकृतहरू छनौट भई काम सुरु भइसकेको छ । विद्युत् व्यापार कम्पनी तथा इन्जिनियरिङ परामर्श कम्पनी स्थापना हुने चरणमा छन् ।

मन्त्रालयका अनुसार, जलविद्युत् अनुमतिपत्रलाई सरलीकृत गरी एक सय मेगावाटसम्मका विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी अधिकार विद्युत् विभागका महानिर्देशकलाई दिइएको तथा कानुनी सुधारको व्यवस्थाअन्तर्गत विद्युत् नियमन आयोग विधेयक संसद्मा पेस भइसकेको छ । ऊर्जा सङ्कट विधेयकको मस्यौदा तयार भइसकेको छ । ऊर्जा क्षेत्रमा सबैभन्दा बढी सफलता पाएको र अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको वर्षमा रुपमा २०७३ बिदा भएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!