चर्म रोगबाट मुक्त हुन बाइसधारामा घुइँचो

- April 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने बाइसधारा मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।

मेला भरेमा विभिन्न चर्म रोगबाट मुक्त भई दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास

उक्त स्थानमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने परम्परा छ । सो मेला भरेमा विभिन्न चर्म रोगबाट मुक्त भई दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ । त्यहाँ आएकामध्ये कोही जामाचोमा रहेको बौद्ध चैत्यमा समेत जाने गर्छन् । उक्त चैत्यमा विपस्सी बुद्ध आएर ध्यान गरेको विश्वास छ । अघिल्लो दिन बौद्धनाथ चैत्यमा मेला भर्न आएका भक्तजनसमेत त्यहाँ आएर स्नान गरी स्वयम्भूमा दर्शन गर्न जाने प्रचलन छ ।

मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट दर्शनार्थीको विशेष घुइँचो लागेपछि बालाजुबाट त्यस क्षेत्र चल्ने सवारी साधनको आवतजावत रोकिएको छ ।

बाइसधारा मेला व्यवस्थापन समितिका सदस्य राजु लामाले यस वर्ष मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाएर दर्शनार्थीसँग समन्वय गरी भिड व्यवस्थापन गरिएको जानकारी दिनुभयो । साँझसम्म करिब ५० देखि ६० हजार झक्तजन आउने अनुमान छ ।

मेलामा सहभागी भक्तजनको सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । केही संस्थाले निःशुल्क पिउने पानी वितरण गरेका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!