कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

- April 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तेह्रथुम । जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै कैदीबन्दीमा उच्च रक्तचापको समस्या रहेको पाइएको संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।जिल्ला कारागारमा लाइन्स क्लब अफ विराटनगर र विराटनगर भन्सार सङ्घले संयुक्तरुपमा स्वास्थ्य शिविर आयोजना गरी कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधोपचार गरेको हो । नियमितरुपमा स्वास्थ्य चेकजाँच गरिनुपर्नेमा कैदीबन्दीको नियमित नहुँदा उच्च रक्तचाप, ग्यास्ट्राइटिस, हाडजोर्नी, आँखा र पेटसम्बन्धी रोग बढी पाइएको लाइन्स क्लब अफ विराटनगरका अध्यक्ष डा बालकृष्ण शाहले बताउनुभयो । डा शाहका अनुसार कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण हुने व्यवस्था नहुँदा बढी समस्या देखिएको छ । साँघुरो कारागारमा खाँदिएर बस्नुपर्दा कैदीबन्दीमा एकै किसिमका रोगको बढी सङ्क्रमण भएको पाइएको जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहले बताउनुभयो ।

२५ जना क्षमता रहेको जिल्ला कारागारमा हाल ८६ कैदीबन्दी छन् । त्यसमध्ये नौ थुनुवा र दुईजना नाबालक रहेको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीले रोग लागेको प्रारम्भमै रोगबारे थाहा पाएर सम्भावित जोखिमबाट बच्न आफूहरु वञ्चित भएको गुनासो गरेका छन् । जिल्ला कारागारमा यस्ता शिविर यसअघि कहिल्यै पनि भएका थिएनन् । कैदीबन्दीले निरन्तर स्वास्थ्य जाँचको माग गरेका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!