स्थानीय तहमा उम्मेदवारको खोजी (लेख)

- March 13, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डा. सुरेश आचार्य

एकजना नेपाली कांग्रेसका शुभेच्छुकले सोधे– अब गाउँपालिकाको प्रमुखको उम्मेदवार को हो रु मसँग उनको यो प्रश्न अहिले त्यति सान्दर्भिक यसकारण पनि होइन– म कांग्रेसको कुनै आधिकारिक हैसियत राख्दिनँ । पार्टीको एउटा शुभेच्छुकभन्दा बढी हैसियत मैले खोजेको पनि छैन । कुनै पनि पार्टीमा शुभेच्छा मात्रैका आधारमा खोजेको पाइहालिन्छ भन्ने जमाना पनि छैन । तर उनलाई के थाहा छ भने कांग्रेसको बीउ जोगाउने बेलामा सायद म पनि एउटा कार्यकर्ता थिएँ । उनले मसँगै नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए र थाहै नपाई उनी कांग्रेस भएका थिए । उनी हुने खाने कांग्रेस पनि होइनन् । अहिले पनि दुःखजिलो आफ्नो जीवन धानेका छन् । कांग्रेसले उनलाई आजसम्म केही दिएको थाहा छैन । तर परिआएका बखत कांग्रेसलाई दिलोज्यानले सघाउन उनी तयार छन् ।
सरकारले स्थानीय चुनावको घोषणा गरेपछि पार्टी कार्यकर्तामा चुनावको रौनक आएको छ । गाउँघरमा चिया पसल र चौतारामा चुनावको कुरा हुन थालेका छन् । कतिपयले आफूलाई उम्मेदवार देख्न थालेका छन् । कतिलाई आफू उम्मेदवार हुनु छैन । तर आफूले भोट हाल्ने पार्टीले राम्रो मान्छेलाई उम्मेदवार बनाइदिए हुन्थ्यो भन्ने छ । त्यसैले सम्भावित उम्मेदवारका चर्चा गाउँटोलमा सुरु भएका छन् । चुनावका लागि ७० दिन बाँकी रहँदा पार्टी कहाँ छ रु चुनावमा चासो राख्ने कार्यकर्ता र शुभेच्छुकहरूले थाहा पाएका छैनन् ।
कांग्रेसले आफूलाई कार्यकर्ता संगठित भएको पार्टी मान्दैन । कांग्रेस “मास बेस्ड” पार्टी हो भन्ने गरिन्छ । अर्थात् आमनागरिक नै कांग्रेस हुन् । उनीहरू सधैं पार्टीका लागि खटिरहँदैनन् । परिआउँदा पार्टीलाई सघाउन तयार छन् । तर कुनै पनि संगठनका आ–आफ्ना मापदण्ड हुन्छन् । सदस्यता लिएको छ वा छैन भन्ने आधारमा कार्यकर्ताको मूल्यांकन हुन्छ । संगठित सदस्य हुनु र नहुनुमा भिन्नता गरिन्छ । अन्यथा पार्टी भीडले सञ्चालन गर्न थाल्छ । मूल्य र मान्यता विशृंखलित हँुदै जान्छन् । तर कांग्रेसमा माथि भनिएका जस्ता धेरै कार्यकर्ता छन्, तिनको खोजी कांग्रेसले गर्दैन । को कहाँ रहेका व्यक्तिले कांग्रेसलाई कसरी मद्दत गरिआएका छन् रु त्यसको रेकर्ड पद्धति कांग्रेसमा होला जस्तो लाग्दैन । चुनावका बेला यस्ता शुभेच्छुकहरूको सहयोगको ठूलो अर्थ रहन्छ ।
लामो समय स्थानीय चुनाव हुन नसकेका कारण स्थानीय तहमा केन्द्रित नेता कार्यकर्ताहरू छरिएका छन् । गाउँघरमा संगठन गरेर बसेका कार्यकर्ताहरू पाउन कठिन छ । पछिल्लो स्थानीय चुनावपछि तीनवटा राष्ट्रिय चुनाव भए । सबैले आफूलाई स्थानीय तहको नेता मान्न छाडे, जिल्ला र राष्ट्रिय तहकै औकात बनाएको भ्रम उनीहरूमा पर्न गयो । यसको कारण पनि छ । संविधानसभाको ठूलो आकार र मिश्रित चुनाव पद्धतिका कारण स्थानीय वडाध्यक्षको हैसियत नराख्नेले पनि सभासद् हुने मौका पायो । त्यसैले हिजो पार्टीमा संगठित भएको व्यक्तिले आफूलाई गाउँ वा नगर तहको नेता नठान्नु स्वाभाविक भयो । यसकारण स्थानीय तहमा योग्य उम्मेदवारको खडेरी जस्तो देखिएको छ ।
आज परिकल्पना गरिएको गाउँपालिका मात्रै हिजोका कतिपय नगरपालिकाभन्दा ठूला छन् । त्यहाँ रहने कर्मचारी र विकास बजेट तथा गाउँपालिकाले पाएको स्वायत्तता कुनै सांसदको भन्दा बढी छ । नेपालका विज्ञान प्रविधि र सहकारी मन्त्रालयभन्दा ठूलो हैसियत गाउँपालिकाको हुनेछ । तिनलाई सञ्चालन गर्ने क्षमता भएको प्रमुख हिजो गाविस अध्यक्ष भएको भन्दा नेतृत्वका हिसाबले पनि धेरैको विश्वासपात्र र व्यवस्थापकीय हिसाबले पनि क्षमतावान हुन जरुरी छ । एउटा गाउँपालिकामा कम्तीमा ६ वटा गाविस जोडिएका छन् । मतका हिसाबले हिजो कतै वर्चश्व राखेका दलले चुनाव जित्छ भन्ने छैन । मतदाताका हिसाबले पछिल्लो स्थानीय चुनावका बेला गर्भमा नरहेको आज मतदाता भएको छ । त्यो चुनावमा कोक्रोमा चचहुइँ गर्दै गरेको बालक वा बालिका आज उम्मेदवार बन्ने हैसियत राख्ने भएको छ । प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला वा जनजाति छान्नुपर्ने प्रावधानले कतिपय ठाउँमा योग्य उम्मेदवार नपाउने खतरा छ । किनकि स्थानीय तहमा नेतृत्व विकास गराउने चुनाव डेढ दशकपछि भर्खर पहिलो पटक हँुदैछ ।
यसको अर्थ चुनावमा आकांक्षीहरू छैनन् र पार्टीमा उम्मेदवार चयनमा विवाद हुँदैन भन्ने होइन । चाहना राख्नेहरूको कमी पक्कै हुने छैन । तर योग्य र क्षमतावान उम्मेदवार पाउन ठूलै समस्या हरेक पार्टीमा देखिएको छ । कांग्रेस संगठित सदस्यहरू भन्दा शुभेच्छुकहरू धेरै भएको पार्टी हो । चाहेर पनि सदस्यता नपाउने पार्टी पनि कांग्रेस नै हो । गुटको राजनीतिलाई नेतृत्वले नै मलजल गरेका कारण मेरो वा तेरो नाममा सदस्यता नपाएका लाखौं कार्यकर्ता कांग्रेसमै छन् । अब यिनको खोजी कसले गर्ने रु उम्मेदवार तय गर्न दुई महिनाभन्दा कम समय बाँकी छ । पार्टी सभापति वा क्षेत्रीय सभापतिले आफ्नो राजनीतिक अनुकूलता हेरेर उम्मेदवारको सूची तयार गर्न थालेका होलान् । उनीहरू नै पार्टीका आधिकारिक व्यक्ति पनि हुन् । तर स्थानीय तहको संरचनामा जसरी परिवर्तन आएको छ, पार्टीका नेताहरूको मानसिकतामा त्यसअनुसारको परिवर्तनको परावर्तन देखिन सकेको छैन । गाउँपालिकामा पार्टीका संगठन बनाउने र तलैबाट उम्मेदवारको तय गर्न अब समय छैन ।
यो अवस्थामा कुनै बेलाका ती मेरा विद्यार्थी र कार्यकर्तालाई दिने जवाफ मसँग छैन । मसँग जवाफ नहुनु ठूलो कुरा भएन । तर यो जवाफ कांग्रेसले दिनुपर्छ । हरेक टोल र गाउँमा पुगेर योग्य र दक्ष उम्मेदवारको खोजी गर्नुपर्छ । हिजो संविधानसभामा दिएको मत मूलतः वैचारिक आधारमै थियो । अब स्थानीय तहमा नागरिकले विकास गर्न सक्ने उम्मेदवार खोज्ने छ । अबको गाउँका लागि सरकार भनेकै गाउँपालिका हो, जसरी सहरको सरकार नगरपालिका हो । यो मान्यताका आधारमा उम्मेदवार चयन गर्नेतिर गम्भीर भइहाल्नुपर्ने चुनौती अरु दलमा भन्दा कांग्रेसमा अझ बढी छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!