महासंघमा अस्वस्थ प्रतिस्पर्धा : संस्थाको आडमा अबैध काम गर्दै व्यवसायी (समिक्षा)

- March 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पछिल्लो समयमा व्यावसायिक मुद्दा भन्दा पनि अस्वस्थ र अव्यावसायिक प्रतिस्पर्धा हावी हुदै गएको छ ।  ४८ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेलाई ३२ वर्ष अधिको मुद्दालाई व्युउताएर सुरु भएको फोहोरी खेल अहिले महासंघमा प्रथाकै रुपमा बस्न पुगेको छ ।  तत्कालिन साधारणसभामा वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार समुहले सो मुद्दालाई मिडियाबाजी गर्न एक समुहलाई नै परिचालन गरेका थिए । आफ्नो सस्थामा भएका सवै अबैध कारोबारको ढाकछोप गर्ने अनि चुनाबी मैदानमा आफ्ना प्रतिद्धन्द्धीको खोइरो खन्दै मिडियाबाजी गरेर महासंघमा भित्रिएको अस्वस्थ्य प्रतिस्पर्धा नियन्त्रण भन्दापनि झन बल्झिदै गएको छ ।
बर्तमान कार्यसमितिको विशेष सभाले महासंघको विधान संसोधन गरि बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णय गरेपछि सो प्रतिस्पर्धा बरिष्ठ उपाध्यक्ष पदमा देखिएको छ । अहिले सो पदमा शेखर गोल्छा, दिनेश श्रेष्ठ र किशोरकुमार प्रधान चुनाबी मैदानमा उत्रेका छन् ।  निजी क्षेत्रको समस्या समाधान, आर्थिक वृद्धिमा योगदान, रोजगार वृद्धि, समृद्धि विस्तार लगायतका अजेन्डाहरु उनीहरुको रहे पनि कसरी बरिष्ठ उपाध्यक्ष जित्ने भन्ने उदेश्यका साथ उनीहरु चुनाबी मैदानमा उत्रेको देखिएको छ ।

दृश्यमा महासंघको निर्वाचनमा दुई या तीन पक्षबीच प्रतिस्पर्धा देखिएको छ । सो अबस्थामा पनि निजी स्वार्थ र अस्वस्थ प्रतिस्पर्धा बढी देखिएको छ । राजनीतिक दलहरूको ‘भोट राजनीति’ भन्दै खरो आलोचना गर्ने निजी क्षेत्रकै निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धाले स्थान पाउदै आएको छ । महासंघ निर्वाचनमा ५० प्रतिशत जिल्ला तथा नगरको भुमीका हुने गरेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष पदमा सोही भोटकै आधारमा आफ्नो चुनाबी रणनीति र पार्टीगत दवाव समेत दिन थालेका छन् । केही वर्षमा महासंघ राजनीतिक दलको भ्रातृ संस्था बन्ने आशंका समेत व्यवसायीहरुले गरेका छन् । एसोसिएट र वस्तुगततर्फका मतदाता पनि राजनीतिक रूपमा बाँडिएको गत निर्वाचनमै सतहमा देखिएको थियो ।
महासंघका जिल्लास्तरीय निर्णय र निर्वाचनमा अञ्चल प्रतिनिधि छनोट गर्दा समेत राजनीतिक आधारमा हुने गरेको व्यवसायीहरुले जनाएका छन् । अघिल्लो चुनावमा विजयी सुरज वैद्यले एमालेको साथ लिएर उमेदवारी दिएका थिए भने आजाद श्रेष्ठले कांग्रेसको साथ लिएर मैदानमा उत्रेपछि सो प्रष्ट भएको थियो । त्यसपछि राजकर्णिकार समूहलाई एमाले र पाण्डे समूहलाई कांग्रेसले अघोषित रुपमा समर्थन गरेको समेत व्यवसायीहरुको भनाई थियो ।
यसैबिच, महासंघ निर्वाचनमा पैसाको समेत अस्वस्थ खेलमा बृद्धि हुदै गएको छ । जिल्लानगरका प्रतिनिधिहरूले मतका लागि खुलेआम रकम माग्ने गरेका छन् । निर्वाचनको अन्तिम समयमा मतको किनबेच हुने गरेको दृष्य निर्वाचन स्थलमै देखिएको थियो । महासंघको राजनीतिलाई नजिकबाट हेरेका एक व्यवसायीकै आधारमा भन्ने हो भने पनि जिल्लानगरको भोट तान्न रकम अचूक अस्त्र बन्ने गरेको उल्लेख गरेका छन् । त्यो रकम जुटाउन उम्मेदवारहरूले न्यूनतम ५ करोड रुपैयाँको फन्ड नै तयार गरेर चुनाबी मैदानमा जाने गरेका छन् ।
पहिले जस्तै अहिले पनि चौधरी, ज्योति, गोल्छा, खेतान जस्ता ठूला घरानाकै समर्थन महासंघको निर्वाचनमा महत्वपूर्ण मानिन्छ । महासंघबाट छुट्टिएर नेपाल उद्योग परिसंघ स्थापना गरेका विनोद चौधरी तथा महासंघमा सक्रिय नदेखिएका राजेन्द्र खेतान दुवैले आफू अनुकूलका व्यवसायीको जितका लागि गोप्यरुपमा खेल खेल्ने गरेका छन् । यो पटक पनि गोल्छा समूहका सदस्य शेखर गोल्छा नै बरिष्ठ उपाध्यक्षमा उमेदबारी दिने भएकाले सो खेल अझ बढ्ने प्रष्ट भएको छ । सो खेलमा  ज्योति समूह समेत सहभागी हुने पक्कापक्कि भएको छ ।
महासंघमा लामो समयदेखि नेवार र मारवाडी व्यवसायीहरूको सामुदायिक प्रभाव पर्दै आएको छ । नेवार समुदायबाट दिनेश श्रेष्ठ, किशोर श्रेष्ठ र मारवाडी समुदायका गोल्छा उठ्ने भएका छन् । त्यसको साथमा केडिया अर्गनाइजेसन समेत लागेको देखिन्छ । प्रत्येक वर्षको निर्वाचनमा पूर्वअध्यक्षहरू कुशकुमार जोशी, चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, महेशलाल प्रधान, सुरज वैद्य, प्रदीपकुमार श्रेष्ठ र पदम ज्योतिहरु समेत आफ्नो अनुकुलको व्यक्तीलाई नेतृत्वमा ल्याउने खेलमा सकृय भएर लाग्ने प्रष्ट देखिन्छ ।
महासंघमा जिल्लानगरतर्फबाट २८ (अञ्चल प्रतिनिधि १४ समेत), वस्तुगतमा १२, एसोसिएटमा १६, द्विराष्ट्रिय चेम्बर अफ कमर्सबाट एक, एक वरिष्ठ उपाध्यक्ष सहित चार उपाध्यक्ष सहित ६२ जनाको कार्यसमिति पनि निर्वाचित गर्नेछ ।  लामो द्वन्द्व र संक्रमणकालको व्यवस्थापनपछि देश आर्थिक समृद्धितिर लम्किन लागेका बेला निजी क्षेत्रको ठूलो संस्थाको नेतृत्वको जिम्मेवारीले पनि ठूलो भुमिका खेल्ने छ । तर, महासंघमा हुने अस्वस्थ खेलले व्यक्ति र गुटगत स्वार्थलाई प्रश्रय दिएसंगै सो अबसर समेत गुम्दै गएको छ ।
महासंघले त्यस्तै स्वार्थका कारण गम्भीर विषयमा अडान लिन र निजी क्षेत्रको गरिमा राख्न चुकेको छ । नक्कली भ्याट बिल प्रकरण र राजस्व चुहावटमा व्यापारीको पक्षमा बोल्नु, कार्टेलिङ र सिन्डिकेट विरुद्ध प्रभावकारी निर्णय गर्न नसक्नु, सरकारलाई मात्रै दोष दिएर आफ्नो भूमिका अनुसार काम नगर्नु महासंघमाथि लाग्ने आरोप हुन । ती आरोपलाई चिर्न अझै महासंघले सकेको छैन ।
यसरी गुट उपगुटको घेराभन्दा बाहिर महासंघ कहिल्यै पनि आउन सकेन् । आफ्नै घरमा ढुंगा हानेर सञ्चो मान्न तयार हुने महासंघका अधिकाशं पदाधिकारीहरुनै अबैध कारोबारमा संलग्न भएकै कारण महासंघ एक देखाउने सस्थामात्र बनाएका छन् । जुन सस्थाको आडमा देशमा नीजि क्षेत्रबाट जति योगदान हुनु पर्ने हो त्यो भने दिन सकेको छैन ।
यस्तै आफ्नै घरमा ढुंगा हानेर निर्वाचित अध्यक्ष पाण्डेलाई बखास्त गरेर अध्यक्ष बन्न सफल भएका पशुपति मुरारका पनि पछिल्लो समयमा सस्थाको हितमा भन्दा पनि आफ्नो हितमा लागेकै कारण सुपारीलगायतको अबैध कारोबारमा फसेका छन् । नयाँ महासंघको विधानअनुसार भबानी राणा स्वत: अध्यक्ष हुने छिन् ।[email protected]

r_PKgNuL


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!