तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

- February 27, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पथरी मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ ।आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो ।अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक मात्र होइन जिल्लामा सबै सामु परिचित समेत गरायो । दास परिवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएको छ ।खेती सुरु गरेको पहिलो वर्ष यामलालले रु दुई लाख नाफा कमाउनुभयो । छ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले भन्नुभयो – “सुरुदेखि अहिलेसम्म मैले घाटा व्यहोरेको छैन ।”

अहिले पाँच बिगाहा जमिनमा तरकारी खेती विस्तार भएको छ । मेहनत ग¥यो भने तरकारी खेतीबाटै अहिले वार्षिक रु पाँच लाख आम्दानी गर्न सकिने यामलालको तर्क छ । तरकारी खेतीमा उहाँको परिवारको उत्तिकै साथ छ ।परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेती सुरु गरेका उहाँ अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताउनुभयो । यामलाले भन्नुभयो – “तरकारी खेतीले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।”तरकारी खेतीको आम्दानीबाट दुई बिगाहा खेती र १० कट्ठा घडेरी जोड्नुभएको छ । दास परिवारले सो खेतमा धान, गहुँ, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसमअनुसारका सबै तरकारी लगाउने गर्नुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भन्नुभयो – “दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ । ” सो कार्यालयले दास परिवारलाई युवा स्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिँचाइ कार्यक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेती तालिम दिएपछि उहाँ थप हौसिनुभएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!