संशोधन प्रस्ताव पारित गराइछाड्ने अठोट

- February 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ ।तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदले प्रतिपक्षी नेकपा एमालेलगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिनुभयो ।प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताउनुभयो ।

बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्नेछ भन्नुभयो । ‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उहाँको भनाइ थियो । पूरक पूस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!