गाउँका विद्यार्थी व्यावसायिक तरकारी खेतीमा

- February 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पथरी मोरङ । तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक तहमा अध्ययन गर्दै तरकारी खेती गर्दै आउनुभएको छ ।अमाही बरियातीका सुवासचन्द्र गच्छदार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञान विषयमा स्नातक तहमा अध्ययन गर्दै आउनुभएको छ । स्नातक पढ्दै गरेका विद्यार्थी पाँच जनाको समूह बनाएर चार बिगाहा जग्गा भाडामा लिएर खेती सुरु गरेको भए पनि गत वर्ष उहाँहरुले आठ कट्ठामा भन्टा र गोलभेँडा मात्रै लगाउनुभएको थियो । उहाँहरुले गत वर्ष भन्टाबाट खर्च कटाएर रु ७० हजार र गोलभेँडाबाट रु ५० हजार नाफा कमाउनुभयो । तर यस वर्ष भने चार बिगाहामा नै उहाँहरुले तरकारी लगाउनुभएको छ ।

यस वर्ष कम्तीमा पनि रु १० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ । पुरानो तरिका छाडेर आधुनिक प्रविधि र व्यावसायिक तरिकाले खेती गर्दा आम्दानी पनि राम्रो हुने र कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिनेमा युवा विश्वस्त रहेको कद्माहा–७ का कृषक जितेन्द्रकुमार मण्डलको भनाइ छ ।उहाँहरुले कद्माहामा फार्म तयार पार्नुभएको छ । त्यो फार्मको बाहिरी भागमा पूरै किरा नछिर्नेखालको जाली लगाउनुभएको छ । विज्ञान विषय पढेका यी युवाको उत्साहलार्ई हेर्दा लाग्छ यी युवा नै हुन् जो कृषिमा केही गर्न खोज्दैछन् र यहीबाट कृषि क्रान्ति सुरु भइरहेको छ ।आफ्नो फार्ममा दुईजनालाई रोजगारी दिइरहेको गच्छदारको भनाइ छ । स्वदेशमा रोजगारी पाइएन भनेर युवा विदेश पलायन भइरहेको अवस्थामा ग्रामीण भेगका यी युवा उदाहरण बनेका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!