महाशिवरात्रि तथा सेना दिवसको टुँडिखेलमा बढाइँ

- February 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’का विजयीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । फ्री फल जम्पमा हुद्धा रुवेन पतवार प्रथम हुनुभयो भने द्वितीय पुरस्कार जमदार अर्जुन गौतमले प्राप्त गर्नुभएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल, तेक्वान्दो, महिला सैनिकबाट पिटी, आइकिदो र खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

सो अवसरमा विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र सभामुख ओनसरी घर्ती पनि समारोहमा सरिक हुनुभई शिवरात्री बढाईँको अवलोकन गर्नुभयो ।

रक्षामन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो । शिवरात्रि तथा सेना दिवसमा विशेष समारोहको अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको केही टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए ।

यसअघि समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने श्रीजङ्ग गण र वीरभद्रजङ्ग गुल्मलाई ट्रफी प्रदान गर्नुभयो । प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने मध्यपृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो । समारोहमा दुर्गाबक्स गणलाई ब्यानर प्रदान गरिएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!