संविधान संशोधन आवश्यक संयोजक भट्टराई

- January 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बनेपा। नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको बताउनुभएको छ ।बनेपामा आज राष्ट्रिय युवा अभियान, काभ्रेपलाञ्चोकको प्रथम जिल्ला सम्मेलनमा उहाँले संविधान संशोधन गरेर मधेसी समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।संयोजक भट्टराईले भन्नुभयो–“मधेसी समुदायलाई अल्झाउने कामले समस्याको समाधान हुँदैन ।” उहाँले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै संविधान संशोधनका लागि योगदान गर्नसमेत आह्वान गर्नुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले संविधान कार्यान्वयन नहुँदा विगतमा भएका परिवर्तन र क्रान्ति गलत त थिएनन् भन्ने आशङ्का देखिएको तर्क गर्दै विकास र समृद्धिका लागि राष्ट्रिय एकता र स्वाधीनता आवश्यक भएको बताउनुभयो ।इतिहासका निर्माता र सिर्जनशील कालखण्डका युवा शक्ति भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै भट्टराईले पराधीन र परनिर्भर अर्थतन्त्रको अन्त्य जरुरी भएको बताउनुभयो ।नयाँ शक्ति नेपालका नेता गङ्गानारायण श्रेष्ठले विदेशीबाट उपलब्ध भएको रेमिट्यान्ससमेत अनुत्पादक क्षेत्रमा लगानी भएकामा चिन्ता व्यक्त गर्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!