भूकम्पको पहिलो किस्ता गाम्नाङ्टार गाउँमै लगी वितरण

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ओखलढुङ्गा (गाम्नाङ्टार) । भूकम्प गएको २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउँ विकास समितिका भूकम्प पीडित परिवारलाई  सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै लगी वितरण गरिएको छ । गाम्नाङ्गटार र टार केरावारीका सात सय घरपरिवारलाई तीन करोड ५० लाख रुपैयाँ गाउँमै लगेर वितरण गरिएपछि गाउँले हर्षित भएको सांसद रामहरी खतिवडाले बताएका छन् । पहिलो किस्ता वापत प्रति परिवारले ५० हजार रुपैयाँ पाएका छन । सदरमुकाम देखि सो स्थल दुई दिनको पैदल दुरीमा पर्दछ ।
स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र लगायतका एकिकृत घुम्ती शिविर सेवा उक्त स्थानमा सञ्चालन गरेको थियो । सांसदहरु खतिवडा, यज्ञराज सुनवार र हर्कवोल राईले ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि गाम्नाङ्गटारमा शनिबार आयोजित कार्यक्रममा सरस्वती वस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ता वापतको अनुदान रकम प्रदान गरेका थिए । यस्तै, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनीक सेवाको शुरुवात गरेको सांसद खतिवडाले जनाए ।

unnamed1
अहिलेसम्म टहरामै ऋण काँढेर कष्टले वसेका छौ, अव पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौ,” टारकेरावारीका ६२ वर्षिय यज्ञबहादुर अछामीले भने । जिल्लाका ५० मध्ये पकली, टार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन ‘दुर्गम वस्तीका भूकम्पपीडित परिवारलाई आवास निर्माणको लागि  पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँवस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो,’ सांसद खतिवडाले भने । सांसद खतिवडाले आफ्नो पहलमा हेलिकप्टरबाट सो स्थलमा आवतजावतको प्रवन्ध मिलाएका  थिए । सांसद सुनवारले सरकारले ढिलो भएपनि अनुदान रकम उपलब्ध गराउनु सह्रानीय काम भएको बताए  ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८ सय प्रभावित परिवार मध्ये अधिकांशसँग अनुदान सम्झौता भएको भएपनि जम्मा सात सय ६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले अनुदान रकमसँगै स्थानीय प्रशासनले दिने कृषि, स्वास्थ्य, नागरिकता, राहदानी, ज्येष्ठ नागरिक परिचय पत्र सहितको सेवा एकैचोटि गाउँघरमै उपलब्ध गराइएकोले दुर्गम वस्तीका नागरिकले यसबाट लाभ लिन पाएको उनले बताए  । स्थानीय विकास अधिकारी खत्रीले दोस्रो किस्ताको रकम पनि छिटो उपलब्ध गराएर सरकारी र सार्वजनिक भौतिक पुर्वाधार निर्माणको कामलाई तिव्रता दिन विशेषत पुननिर्माण प्राधिकरणले तदारुकता देखाउनुपर्ने बताए  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!