कृषि मेला : पाँच सय ५० जातका कृषि उपज प्रदर्शनी

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची । “कृषि मेलाको उपहार–ज्ञान र प्रविधिको विस्तार” भन्ने मूलनाराकासाथ आयोजित कृषि प्रदर्शनी मेला यहाँ सम्पन्न भयो ।

जिल्ला कृषि विकास एलायन्स र मेलम्ची नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित उक्त मेलामा कृषिको व्यावसायिक विकासका लागि कृषकलाई उत्प्रेरणा दिइने खालका विभिन्न सन्देशमूलक नाटक र साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

त्यस्तै मेलामा कृषि यन्त्र जस्तै कोदो चुट्ने, हाते ट््याक्टर, मकै छोडाउनेलगायतका विद्युतीय उपकरणसमेत प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेलाई क्रमश रु दुई हजार, एक हजार पाँच सय, एक हजार र सात सय प्रदान गरियो भने वस्तु प्रदर्शनीमा प्रति किसान रु तीन सयका दरले प्रदान गरिएको कृषि विकास कार्यालय सिन्धुपाल्चोकले जानाएको छ ।

भूकम्पपछि किसानलाई व्यावसायिक कृषिमा लाग्न थप प्रेरणा दिइने तथा कृषि उपजलाई बजारसम्म सहज पहुँच बढाउने उद्देश्यले मेला आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताउनुभयो ।

मेलामा जिल्लाभरीबाटै उत्कृष्ठ आलु प्रदर्शन गर्ने मेलम्ची नगरपालिका १२ का हेमराज खतिवडा तथा काउली र फर्सी प्रदर्शनीमा उत्कृष्ठ हुने लेखनाथ खतिवडाले यस प्रकारको कृषि मेलाले किसानलाई कृषिमा लाग्न थप उत्साह र प्रेरणा मिलेको बताउनुभयो ।

एकदिने सो प्रदर्शनीमा जिल्लाका चार सय कृषकले पाँच सय ५० जातका कृषि उपज प्रदर्शन गरेका थिए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!