आर्थिक अभावमा गाउँको क्याम्पस अलपत्र

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्वत । जिल्लाको सुदूरदक्षिणी गाविस वहाकीमा रहेको वहाकी सामुदायिक क्याम्पस आर्थिक र भौतिक पूर्वाधारको अभावमा सङ्कटमा परेको छ ।

विसं २०६७ देखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या उत्पन्न भएको हो । ग्रामीण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन तथा बढ्दो बसाइँसराइ रोक्ने उद्देश्यले क्याम्पस स्थापना गरिए पनि पछिल्लो समय विभिन्न समस्या उत्पन्न हुन थालेको छ ।

त्रिविले मानविकी र शिक्षा सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख एकनारायण भट्टराईले बताउनुभयो । हाल उच्च माविले दिएको भवनमा कक्षा सञ्चालन गरिए पनि क्याम्पसको आफ्नै भवन नहँुदा समस्या भएको उहाँको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयबाट बर्सेनिजसो केही रकम अनुदान स्वरुप आउने भएपनि पर्याप्त रकम नभएकाले भवन निर्माण गर्न नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो ।

भवन निर्माण र प्राचार्यलाई तलब सुविधा दिन रकमको अभाव भइरहेको र आफूहरु स्थानीयस्तरदेखि विभिन्न स्थानमा स्रोतको खोजीका लागि भौँतारिरहेको उहाँले बताउनुभयो । जिल्लाको सुदूरदक्षिणी पाँच गाविस तथा छिमेकी गाविस पूर्तिघाट र सेतीवेणीबाट समेत स्नातक तहमा बिए र बिएड अध्ययनको लागि विद्यार्थी आउने गरेका छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएता पनि अध्यापन गराउने शिक्षकलाई नै तलब खुवाउन समस्या पर्ने गरेको छ ।

विद्यार्थीबाट शुल्क लिएर पनि क्याम्पस सञ्चालन गर्न सम्भव नभएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । उक्त क्षेत्रका विद्यार्थी उच्च मावि तहसम्मको अध्ययनपछि माथिल्लो तहको शिक्षा लिन जिल्ला छाडेर जानुपर्ने बाध्यतालाई हटाउन क्याम्पस सञ्चालन गरिए पनि समस्या उत्पन्न भएको बताइएको छ ।

हाल वहाकी तथा शालिग्राम गाविसले केही बजेट छुट्याएता पनि त्यसले क्याम्पस सञ्चालन गर्न पर्याप्त नभएको सञ्चालक समितिले जनाएको छ । क्याम्पसको नाउँमा भने हाल पाँच रोपनी जग्गा खरिद गरी चारकोठे भवन निर्माण गर्न लागेको भुसालले बताउनुभयो । विश्वविद्यालय अनुदान कोषबाट भवनका लागि रु २५ लाख विनियोजन भएको हुँदा क्याम्पसले जग्गा खरिद गरी भवन निर्माण गर्न लागेको उहाँको भनाइ रहेको छ ।

उक्त क्याम्पसमा अहिले १०० जनाको हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको र नवनिर्मित भवन पूरा भएपछि थप विद्यार्थी सङ्ख्या बढाउन सकिने व्यवस्थापन समितिको अनुमान समेत रहेको छ । क्याम्पस सञ्चालनपछि गरिब र निमुखा परिवारका विद्यार्थीलाई फाइदा पुगेको स्थानीयबासीको भनाइ समेत रहेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!