प्रहरी सुरक्षा जाँच चौकीमा आक्रमण, आठ सुरक्षा अधिकारी मारिए

- January 17, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कायरो । इजिप्टको एक इलाका प्रहरी सुरक्षा जाँच चौकीमा आज भएको एक आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु र अन्य तीन जना नराम्ररी घाइते भएको इजिप्टको स्वास्थ मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

राजधानी कायरोबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने ‘इजिप्ट्स न्यु भ्याली गभर्नोरेट’ सुरक्षा जाँच चौकीमा सरकारी सशस्त्र सेना तत्कालै पुगेर आक्रमणकारीहरुमध्ये दुईजनालाई घटनास्थलमै मारि दिएका छन् ।

साथै, अरु भगुवा आक्रमणकारीहरुलाई सैनिकहरुले निरन्तर खोजी गरिरहेको पनि जनाइएको छ । हालसम्म उक्त आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

सन् २०१३ मा इजिप्टका इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि सुरक्षा कर्मीमाथि हुने आक्रमण एक सामान्य घटनाको रुपमा विकसित हुँदै आएको छ ।

पहिला पहिला यस्ता आक्रमणहरु सिनाइ इलाकामा मात्र केन्द्रित हुने गरेकोमा बिस्तारै बिस्तारै राजधानी कायरोसहित देशका अन्य स्थानमा पनि सर्दै गएका छन् ।

गत ९ डिसेम्बरका दिन पनि विश्वविख्यात गिजा पिरामिड जाने राजमार्गमा पर्ने, कायरो नजिकै अवस्थित एक सुरक्षा जाँच चौकीमा भएको बम विस्फोटमा परी ६ प्रहरी अधिकारी घटनास्थलमै मारिएका थिए । रासस÷सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!