गीतकार सङ्घको छैटौँ साधारणसभा

- January 13, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथ प्रदर्शन गर्ने खालका गीत सिर्जना गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन् । यहाँ आज आयोजित गीतकार सङ्घको छैटौँ साधारणसभामा उनीहरुले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो औँल्याउनुभयो ।

वरिष्ठ गीतकार किरण खरेलले सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत क्षेत्र सशक्त माध्यम भएको बताउँदै सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्नुपर्ने सुझाव दिँदै त्यसले राष्ट्रिय एकतालाई अझ बढी सशक्त बनाउनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले गीत, सङ्गीत र काला क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील हुन नसक्दा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताउनुभयो । साधारणसभाले सङ्घको नयाँ नेतृत्वसमेत छनोट गर्नेछ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!