नेपाल जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि भूमिका खेल्न चाहन्छः राष्ट्रपति

- January 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साधन स्रोतको कमी भए पनि नेपालले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न प्राथमिकता दिएको बताउनुभएको छ ।यहाँ आजदेखि सुरु भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधतामा आएको ह्रासले सम्पूर्ण विश्व नै आक्रान्त बनेको बताउनुभयो । उहाँले भन्नुभयो – “प्राकृतिक विविधतायुक्त नेपाल यथार्थमा विश्व जैविक विविधताको सूक्ष्म रुप मान्न सकिन्छ, यस सन्दर्भमा सम्मेलनको महत्व नेपालका लागि झन् बढी रहेको कुरामा दुई मत छैन ।”

जैविक विविधता मानव रक्षा र जीविकोपार्जनमा अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हालैका वर्षमा देखिएका जलवायु परिवर्तन र विश्वव्यापी उष्णता जैविक विविधता एवम् जीविकोपार्जनमा गम्भीर चुनौतीका रुपमा खडा भएका छन् भन्नुभयो ।राष्ट्रपतिले विश्वव्यापी रुमपा बढ्दो उष्णतामा नेपालजस्ता मुलुकको योगदान नगण्य हुँदा पनि हिउँ पग्लने, हिमताल विस्फोटनलगायत जलवायु परिवतर्नका नकारात्मक असरबाट ती मुलुक पीडित रहेको धारणा व्यक्त गर्नुभयो ।नेपाल जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको जानकारी गराउँदै उहाँले भन्नभयो – “नेपाल जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि सक्रिय भूमिका खेल्न चाहन्छ ।”

सम्मेलनमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनका असरले नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रताडित भएको धारणा राख्नुभयो । जलवायु परिवर्तनका असरले जीविकोपार्जनमा समेत गम्भीर असर पारेको बताउँदै मन्त्री जोशीले भन्नुभयो – “हामीले यस्ता समस्यासँग जुध्न अनुकूलन नीति बनाई लागू गर्दै आएका छौँ ।” जैविक विविधता संरक्षणका लागि वातावरणमैत्री विकास नीति लागू र स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उहाँको जोड थियो ।

त्रिवि उपकुलपति प्रा डा तीर्थ खनियाँ, एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड०का महानिर्देशक डा डेभिड मोल्डन, युएसआइडी नेपालका निर्देशक पेटेर ए मल्नक, सिटी विश्वविद्यालय न्युयोर्कका प्रा निर क्रकौर र केन्द्रीय वनस्पति विभागका प्रमुख प्रा डा मोहन शिवाकोटीले सम्मेलन जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असरसँग जुध्न विश्वस्तरमा भएका अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने बताउनुभयो ।विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, कृषि विकास र वन तथा भूसंरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्व विद्यालयलगायत संस्थाको आयोजनामा भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० भन्दा बढी देशका करिब ४०० वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, वातावरणविद्लगायतकोे सहभागिता छ । सम्मेलनमा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाहा प्रजातिअन्तर्गतका विभिन्न वनमारा वनस्पति तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने बताइएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३०० कार्यपत्र प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!