जोमसोम विमानस्थलमा टायर बालेर प्रदर्शन

- December 2, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मुस्ताङ । मुस्ताङको टुकुचे र कोवाङ गाविसलाई छुट्टै गाउँपालिका बनाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आफूहरुलाई कुनै जानकारी नदिई दुई गाविसलाई थासाङ गाउँपालिकामा समावेश गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । लामो समयदेखि दुई गाविसलाई एक गाउँपालिकामा समावेश गर्न माग गर्दै ज्ञापन बुझाइए पनि सहयोग समितिले आफूहरुको माग सुनुवाइ नगरेको स्थानीयवासीको गुनासो छ ।

दुई गाविसका स्थानीयवासीले कोबाङ र सदरमुकाममा निरन्तर प्रदर्शन गर्दै आएका छन् । दुई गाविसका स्थानीयवासीले बिहीबार जिल्लामा तीनघन्टा यातायात बन्द गरेका थिए भने बन्द जोमसोम विमानस्थलमा टायर बालेर प्रदर्शन गरेका थिए । स्थानीय अगुवा हेमन्त गौचनले ऐतिहासिक निरन्तरता, भौगोलिक सुगमता र जनसङ्ख्याको हिसाबमा दुई गाविसलाई मिलाएर गाउँपालिका बनाइनुपर्ने बताउनुभयो ।

“हामीलाई लेते केन्द्र धेरै टाढा हुन्छ । यो विषयमा हामीले निरन्तर खबरदारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । दुई गाविसमा थकाली समुदायको जनसङ्ख्या धेरै रहेको छ ।

स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले स्थानीयवासीको मागका विषयमा आयोगमा जानकारी गराइएको बताउनुभयो । “सुरुमा उहाँहरुको मागका विषयमा हामीलाई खासै जानकारी भएन । अहिले सबै कुरा आयोगमा पठाएका छौँ”, उहाँले भन्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!