वैदेशिक रोजगारी : लैङ्गिक भूमिकामा परिवर्तन (लेख)

- November 7, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– बबिता बस्नेत

वैदेशिक रोजगारी र लैङ्गिक भूमिकाको कुरा गर्दा दुई पक्षबाट हेर्नुपर्ने हुन्छ । पुरुषहरू वैदेशिक रोजगारीमा गएपछि घरमा रहेका महिलाको परिवर्तित भूमिका र विदेशबाट फर्किएपछि पुरुषहरूले गर्ने काममा आएको परिवर्तन । वैदेशिक रोजगारीको सन्दर्भमा हामीकहाँ धेरैजसो पारिवारिक विखण्डनका कुराहरू बाहिर आएका छन् । विशेषगरी केही समययता श्रीमान्–श्रीमतीको सम्बन्धमा आएको खटपट र सम्बन्धविच्छेदका मुद्दाहरूले बढी ठाउँ पाउने गरेको छ ।

यस्ता घटना नभएका होइनन्, तर भएका अन्य धेरै कुरालाई सम्बन्ध–चर्चाले छायामा पारिदिएको छ । वैदेशिक रोजगारीको महत्वपूर्ण पाटोका रूपमा रहेको रेमिट्यान्सको उपयोग मुलुकमा कसरी भइरहेको छ ? विदेशको भूमिमा हाम्रा युवाले बगाएको पसिनाको मूल्यको सदुपयोग र दुरुपयोगबारे हामीकहाँ त्यति कुराकानी हुने गरेको छैन । मिडियाले पनि यस्ता कुरालाई धेरै महत्व दिएको पाइँदैन ।
वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स मात्रै भित्र्याएको छैन, विभिन्न सीप र सभ्यता पनि भित्र्याएको छ । वैदेशिक रोजगारमा गएका धेरै पुरुषका पत्नी अन्य पुरुषहरूसँग सम्बन्ध विस्तार गर्ने काममा संलग्न छैनन् । यो विषयमा विस्तृत अनुसन्धान नभएकाले प्रतिशत नै तोकेर भन्न त सकिन्न, तर केही महिलाका कथा र पुरुषका व्यथालाई लिएर सबै महिलालाई एउटै दृष्टिकोणले हेर्ने अवस्थाको सिर्जना गरिएको छ ।

त्यस्ता धेरै महिला छन्, जो आफ्ना पुरुष विदेश गएकाले तिनले घर र समाजमा गर्ने सबै काम आफैँ गर्नुपर्ने अवस्थामा छन् । बाध्यताले उनीहरूको लैङ्गिक भूमिकालाई परिवर्तन गर्दै लगेर ती काममा सक्षम पनि बनाएको छ । जस्तो, गाउँघरमा पहिला महिलाले धुरी चढ्न हुँदैन भनिन्थ्यो । धुरीमा चढेर घरको छानो छाउने काम पुरुषले मात्र गर्थे, तर अहिले पति विदेशमा छन्, बूढा भएका ससुरा धुरीमा चढेर काम गर्न सक्दैनन्, छोरा सानै छ । महिलाले नगरेर के गर्नु ? मकवानपुरकी चुनीमायाँ दरै भन्छिन्, ‘सानोमा कहिल्यै नगरेको काम पहिला त धुरीमा चढ्दा साह्रै डर लाग्यो, छ्वाली कसरी लाउने भन्ने पनि थाहा थिएन ।

तर, गर्दै जाँदा डर हरायो, अहिले त आफ्नो मात्र होइन गाउँलेको घर पनि छाउँछु ।’ गाउँमा पुरुषहरूले मात्रै गर्दै आएको कुलो बनाउने, हलो जोत्नेदेखि मलामी जाने कामसम्म महिलाले गर्न थालेका छन् । ऋण, धनजस्ता कुरा पहिला पुरुषको थाप्लोमा हुने गथ्र्यो । तर, अहिले गाउँमा कसलाई ऋण दिने या कोबाट ऋण लिने, ब्याजमा पैसा लाउने या केही कुरा खरिद–बिक्री गर्नेजस्ता कुराहरूमा महिलाले निर्णय लिन थालेका छन् । सडक, बिजुली, पानीलगायतका भौतिक संरचना बन्दा गाउँमा बस्ने बैठकहरूमा महिलाको सहभागिता हुन थालेको छ । कति महिला उपभोक्ता समूह, सामुदायिक केन्द्रलगायतमा सहभागी छन् ।

‘श्रीमान् साउदीमा छन्, उनले पठाएको पैसाले किनेको भैंसीको दूध बेचेर म घरपरिवार धानिरहेकी छु, श्रीमान्ले पठाएको सबै पैसा जोगाएकी छु,’ काभ्रेकी देवी पौडेल भन्छिन् । उनका छिमेकी कतिपय महिलाले भैंसी पालेर दूध उत्पादन गरे पनि तिनका श्रीमान्हरूले दूध बेच्ने हुँदा भंैसीको स्याहार गर्ने ती महिलाको हातमा पैसा पर्दैन । गाउँका कतिपय पुरुषले तास र मदिरा सेवनमा दूधको पैसा खर्च गर्ने हुँदा घर–व्यवहार पनि टर्दैन ।
वैदेशिक रोजगारीमा जाने अधिकांशका छोराछोरी अङ्ग्रेजी स्कुलमा पढ्छन् । बेलाबेलामा ‘प्यारेट्न्स मिटिङ’हरू हुन्छन् । आफ्ना छोराछोरीप्रति थप उत्तरदायी बनाउन ती मिटिङहरूले मद्दत गर्छन् । शिक्षक तथा अन्य अभिभावकका कुराहरू सुन्न पाइन्छ । अरूका कुरा सुनेपछि आफ्ना कुराहरू पनि राख्नुप¥यो । यस्ता विभिन्न बैठकले महिलालाई बोल्न सक्ने बनायो । घरपरिवारका सदस्यहरूसँग बोल्दा पनि स्वर दबाएर बोल्ने महिला आत्मविश्वासका साथ सार्वजनिक कार्यक्रममा बोल्न थाले ।
यता वैदेशिक रोजगारमा गएका कति पुरुषले भान्साको सीप लिएर आएका छन् । कुन कुरा कसरी पकाउने, कुन तरकारी कसरी काट्ने, घर सफा राख्नेदेखि लिएर भात–भान्सासँग सम्बन्धित काम जानेर फर्किएपछि घरमा अरूले पकाएको खानुभन्दा आफैँले पकाउनु उपयुक्त ठान्न थाले । दुबई, अबुधाबीतिरका रेस्टुरेन्टमा काम गरेर फर्किने कति पुरुषले घरमा खाना बनाएर परिवारलाई ख्वाउँदा खुसी मान्न थालेका छन् ।

हाम्रोजस्ता समाजमा यी सानाजस्ता लागे पनि राम्रा परिवर्तन हुन् । जसले घरको कामप्रति पुरुषलाई पनि उत्तिकै उत्तरदायी बनाउँछ । केही वर्ष विदेश बसेर आएका पुरुषले घरपरिवारलाई समय दिने, बच्चाहरूको स्याहारसुसार गर्ने र बाबुआमाप्रति थप सम्मान गर्ने देखिएको सरु जोशी श्रेष्ठको भनाइ छ । सरु वैदेशिक रोजगारसम्बन्धी विषयकी विज्ञ हुन् ।
यसैगरी वैदेशिक रोजगारीमा गएर फर्किएका महिलामध्ये कतिले रिक्सा किनेर राजगारी दिएका छन् भने कतिले घरेलु उद्योगमा लगानी गरेका छन् ।

उनीहरू स्वयम् पनि थप पौरखी बनेका छन् । धरानकी शारदा मास्के भन्छिन्, ‘पहिला म कसौटी जिन्दगीकीलगायतका टेलिसिरियल हेरेर दिन बिताउँथेँ । अहिले विदेश गएर फर्किएपछि कामको महत्व बुझेकी छु, बिहानैदेखि कुनै न कुनै काममा जुटेकी हुन्छु ।’ शारदा पौरखी संस्था सुनसरीकी उपाध्यक्ष हुन् । विदेश गएपछि समयको महत्व थाहा हुने उनको भनाइ छ ।
वैदेशिक रोजगारीका सामाजिक मूल्यहरू अनेक चुकाउनुपरे पनि यसका राम्रा पाटा प्रसस्त छन् । कतिपय महिला–पुरुषले विदेश गएर अनेक दुःख पाउनुपरेका घटना पनि छन् । तर, ती घटना महिला या पुरुष भएका कारणले नभएर सही जानकारीबिना नै विदेश गएका कारणले भएका हुन् । विदेश जानुअघि आफू जाने देश तथा गर्नुपर्ने कामबारे विस्तृत जानकारी लिएर सुरक्षित च्यानलबाट गएमा दुःखहरू कम हुनेछन् ।

कति महिलाले बाहिर गएर घरेलु काम नै गर्नुपरे पनि कतिचाहिँ डिपार्टमेन्ट स्टोर, हस्पिटल, एयरपोर्टको सुरक्षालगायतमा काम गर्ने हुँदा व्यापारको तरिका तथा प्राविधिक सीप सिकेर फर्किने महिलाको सङ्ख्या ठूलो छ । स्वदेश फर्किएपछि उनीहरूले जानेको सीप तथा साथमा ल्याएको पैसाको सदुपयोग वैदेशिक रोजगारीको सन्दर्भमा महत्वपूर्ण पाटो हो । सीप र पैसा दुवैको सही व्यवस्थापन हुन सक्यो भने लैङ्गिक भूमिकासँगै मुलुकको आर्थिक परिवर्तनमा मद्दत पुग्ने निश्चित छ ।
साभार :‘म्याग फिचर सर्भिस’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!