काठमाडौंबाट सिन्धुलीगढी साइकल यात्रामा हुँदै

- November 7, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अंग्रेजी सैनिकलाई तत्कालीन गोर्खाली सेनाले परास्त गरेको दिनको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीसम्म मंगलबारदेखि साइकल यात्रा हुने भएको छ । साइकल यात्रामा ७० जना ब्यवसायिक साइकल यात्री सहभागी हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा काठमाडौंबाट साइकल यात्रा गर्ने भएको हो । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेलहुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ ।

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकल यात्रा त्यसैको सुरुआत भएको कार्यक्रम संयोजक सौरभ ढकालले आइतबार राजधानीको भृकुटी मण्डपमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
‘साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, संयोजक ढकालले भने, ‘यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।’ ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानले प्रयत्न गर्ने उत्सवको मिडिया कोअर्डिनेटर लीलानाथ घिमिरेले बताए । ‘सिन्धुलीगढी ऐतिहासिक स्थल हुँदै हो, जापान सरकारले बनाइ दिएको रमणीय वीपी राजमार्गले यस ऐतिहासिक स्थलसम्म पुग्न सहज बनाएको छ’, कोअर्डिनेटर घिमिरेले भने, ‘यस रमणीय सडकको अबलोकन गर्दै पुगिने सिन्धुलीगढीसम्मको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने हामीले विश्वास लिएका छौं ।’
साइकल यात्रामा पर्यटन बोर्डले सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने आयोजकले जनाएको छ । ‘राइड टु सिन्धुलीगढी’ मा यात्रा गर्न ७० जना साइकल यात्रीले नाम लेखाएका छन् । साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाह र देवेन्द्र बस्नेतले गर्नेछन् ।

काठमाडौंबाट झण्डै १ सय ३५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । उनीहरुलाई पहिलो दिन सिन्धुलीको खुर्कोटमा बसेर भोलिपल्ट विहान विजयोत्सवमा सहभागि हुन सिन्धुलीगढी पुग्ने छन् ।  सिन्धुलीगढीमा कात्तिक २४ गते नेपाल पत्रकार महासंघ सिन्धुली शाखा र जिल्ला विकास समिति सिन्धुलीले विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् । कमलामाइ नगरपालिकाले सिन्धुलीमाढी देखि गढीसम्म म्याराथन दौड समेत आयोजना गर्ने भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!