मेलम्ची नगरपालिका : अनियमितताको दलदलमा, हप्तैपिच्छे प्रहरीलाई मासु

- November 3, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-शैलेस डंगोल
काठमाडौं । मेलम्ची नगर पालिकाले विभिन्न फर्जि योजनाहरु कागजातमा मात्र सिमित पार्दै व्यापक अनियमितता गर्न सक्रिय रहेको बताइएको छ । प्रहरीलाई हम्तैपिच्छे मासुको बिल तिर्दै आएको नगर पालिकाले प्रहरीले खाएको मासुको बिल कसरी तिर्ने गरेको छ त्यसको हिसाब कही कतै उल्लेख नहुनुले पनि फर्जि कागजातका भरमा अनियमितता हुँदै आएको पुष्टि भएको छ ।

अनियमितता तथा कमिसनकै लागि विभिन्न योजना ल्याउने अनि विचैमा तुहाउने कृयाकलापमा तल्लिन नगरपालिकाका कर्मचारीहरुको कारण स्थानीयबासीहरु रुष्ट बन्न पुगेका छन् । विना अनुगमन र योजनामा विनियोजित रकम सक्नकै लागि अस्थायी रुपमा भन्दै इन्द्रबती नदीको किनारमा फोहोर फाल्न भन्दै खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ । नगरपालिकाले सो खाल्डो खन्नमात्र ३ लाख रुपैयाँ रकम निकासा गरेको थियो ।

जनताको नाममा उपलब्ध लाखौं रकमको दुरुपयोग गर्दै आएका मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख अधिकृत पूर्ण दुलालको कार्यशैली प्रति स्थानीयबासीहरु आक्रोशित बन्दै आएको बताइएको छ ।

नगर प्रमुख दुलालले हप्र्तपिच्छे मासु खुवाएकै भरमा प्रहरीसंगको मिलेमतोमा सूरुमा विकास निमार्ण कार्यमा मापदण्ड देखाउदै निमार्ण कार्य रोक्ने तर १ महिना पछि मापदण्ड विपरित स्वीकृती दिदै कमिशनको खेलमामात्र लागेको आरोप स्थानीय बासिन्दाले लगाउदै आएका  छन् ।

मेलम्चीबाट एक स्थानीय बासिन्दाले नाम नलेख्ने सर्तमा दिएको जानकारी अनुसार सुरुमा आएका नगरप्रमखु अग्नी अधिकारीले समेत सर्वदलिय बैठक विनानै रकम निकास गर्ने गरेको भन्दै स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले विरोध जनाएपछि सरुवा भएको जनाएका छन् । सो रिक्त स्थानमा नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री प्रकाशमान सिंहका पिए श्रीराम लामिछानेको सिफारिसमा नयाँ नियुक्ती लिएर मेलम्ची नगरपालिका पुगेका पुर्ण दुलाल समेत उही कमिशनको खेलमा लागि परेको आरोप छ ।

नगरपालिकामा दुलाल आएपछि राजश्वमात्र उठाउने र सेवा सुविधा केही नदिदा नगरबासी चिन्तित बनेका हुन् । मेलम्ची सिटीपार्क निर्माणको लागि नगरपलिकाले टेण्डर आह्वान पश्चात कमिसन मिलाएर दलका प्रतिनिधिलाई कमिशन बाँडेर टेण्डर नगरेको खुलासा भएपछि नगरपालिकाको कार्यसम्पादनको कमिशन खेल सतहमा आएको हो ।

विभिन्न बहाना बनाउँदै लुटधन्दामा सक्रिय नगर प्रमखु दुलालका हर्कतबाट स्थानियबासीहरु आक्रोसित हुँदै आएको बताइन्छ । मेलम्ची नगर क्षेत्रमा रहेका विभिन्न सार्वजनिक जग्गा अतिक्रमण गर्दे भवन निर्माण भैरहेको अवस्थामा सुरुमा रोक्न प्रहरी परिचालन गर्ने दुलालले कमिसन मिलेपछि विभिन्न कागजात तयार पार्दै सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउने खेलमा समेत लाग्दै आएको आरोप छ । यसै विषयमा दुलालसंग प्रतिकृया लिँदा कतिपय सार्वजनिक जग्गामा व्यक्तिहरुले भवन निर्माण गर्दै आएका स्वीकार गर्दै भने हामीले नबनाउन पत्र पठाएका छौं । पठाउँदा पठाउँदै बनाउछन् भने के गर्नु र ? उनको यो जवाफले उनको कार्यक्षमता माथी नै प्रश्न चिन्ह खडा भएको छ । मेलम्ची नगरका थप कर्तुतहरु तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!