खोटाङमा १० वटा स्थानीय तह बनाउने सहमती

- October 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा

खोटाङ्ग । खोटाङमा १० वटा स्थानीय तह बनाउने टुंगो लगाइएको छ । स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिको संयोजनमा राजनैतिक दलका प्रमुख सम्मिलित बैठकले दुई दिन लगाएर खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका बनाउने टुंगो लगाएको हो ।

गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले प्रस्ताव गरेको अधिकतम संख्यामै दलहरुले सहमती जुटाएका हुन् । जिल्लाका दलहरुबीच स्थानीय तहको साझा खाका बनाउने विषयमा सहमती जुट्न नसकेपछि गत भदौ–२६ गते खोटाङमा स्थानीय तहको संख्या १३ वटा, १० वटा र ९ वटा बनाउन फरक–फरक किमिसका खाका तयार पारेर आयोग समक्ष सिफारिस गरिएको थियो ।

जिविसको हलमा मंगलबार साँझ सम्पन्न बैठकले बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, सल्ले, महादेबस्थान, अर्खौले, धितुङ र लामीडाँडा गाबिसलाई समेटेर दुर्छिम केन्द्र रहने हलेसी–तुवाचुङ नगरपालिका, राजापानी, बिजयखर्क, बुईपा, नुनथला, खार्पा र कुभिण्डे गाबिस समेटेर नुनथलाको महुरे केन्द्र रहने महुरेगढी गाउँपालिका, डुम्रेधारापानी, दुबेकोल, माक्पा, ज्यामिरे, महेश्वरी, जलेश्वरी, ऐसेलुखर्क, बाकाचोल र राखाबांदेल गाबिसको ऐसेलुखर्क केन्द्र रहने ऐसेलुखर्क गाउँपालिका, सप्तेश्वर, बाक्सिला, बासपानी, खार्ताम्छा, फेदी, दिप्सुङ र सुङ्देल गाबिसको बाक्सिला केन्द्र रहने केपिलास गाउँपालिका, हौंचुर, जालपा, खार्मी, पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा र दिक्तेल नगरपालिकाको दिक्तेल केन्द्र रहने दिक्तेलरुपाकोट नगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।

यस्तै, मानेभञ्ज्याङ केन्द्र रहने बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम र टेम्मा गाबिसलाई समेटेर साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहनेगरी याम्खा, डाँडागाउँ, छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाबिसलाई समेटेर दिप्रुङ गाउँपालिका, लिच्कीराम्चे, सिमपानी, वाप्लुखा, लिकुवापोखरी, सावाकटहरे, बड्कादियाले र खोटाङबजार गाबिस समेटेर खोटेहाङ गाउँपालिका, सिन्ताङ साउनेचौंर केन्द्र रहने बराहपोखरी, सुन्तले, साउनेचौंर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गाबिस समेटेर बाराहपोखरी गाउँपालिका तथा चिसापानी केन्द्र रहने डम्बर्खुशिवालय, चिसापानी, दिप्लुङ, काहुले, देबिस्थान र बोपुङ गाबिस समेटेर जन्तेढुंगा गाउँपालिका सिफारिस गरिएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले जनाएको छ ।

खोटेहाङ गाउँपालिकाको केन्द्रका बिषयमा भने दलबीचमा सहमती जुट्न नसक्दा नाम खाली राखेर सबै दलको मत मात्र पठाउने निर्णय गरिएको छ । खोटेहाङ गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा एमालेले इन्द्रेणीपोखरी, खोटाङबजार र सिमपानीमध्ये कुनै एकलाई केन्द्र मान्य हुनेगरी मत दिएको छ । कांग्रेसले इन्द्रेणीपोखरी, खोटाङबजार, बड्कादियाले र सिमपानीमध्ये कुनै एक भए मान्य हुने मत दिएको छ । यस्तै, माओबादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँशक्तीले इन्द्रेणीपोखरी तथा खम्बुवान राष्ट्रिय मोर्चाले इन्द्रेणीपोखरी, खोटाङबजार र सिमपानीको बीचमा केन्द्र बनाइनुपर्ने सुझाव दिएको छ ।

केन्द्रका बिषयमा सर्वसहमती नजुटेको भन्दै राप्रपा नेपालले जनमत संग्रहबाट केन्द्र तोक्नुपर्नेमा ‘नोटअफ डिसेन्ट’ लेखेको छ । यस्तै, पुर्वजिबिस सभापति पर्शुराम कार्कीले पनि खोटेहाङ गाउँपालिकाको केन्द्र इन्द्रेणीपोखरी बनाउन सुझाव दिएका छन् । सहमती नजुट्दा यसअघि पनि खोटेहाङ गाउँपालिकाको केन्द्र खाली राखेरै पठाइएको थियो । श्रोतका अनुशार एमालेभित्रै भएको केन्द्र तानातानका कारण एउटा केन्द्रमा सहमती नजुटेको हो । यसअघि सिफारिस गरिएको खाकामा टुक्र्याइएको छितापोखरी गाबिसलाई यसपल्ट पुःन नटुक्र्याउने निर्णय गरिएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए ।

समितिले च्यास्मीटारलाई तिलुङको संरक्षित क्षेत्र, बाकाचोल र राखाबांदेललाई नाछिरिङको संरक्षित क्षेत्र, सुंदेल र दिप्सुङलाई कोयीको तथा मौवाबोटे र पौवासेरालाई पुमाको संरक्षित क्षेत्र बनाउन सिफारिस गरिएको छ । बासपानी, खार्ताम्छा, फेदी, पाथेका गाबिसलाई सामपाङ स्वयत्त क्षेत्र, खार्मी, जालपा, माक्पा, बाक्सिला र सप्तेश्वर गाबिसलाई दुमी स्वयत्त क्षेत्र तथा भौगोलिक हिसावले दुरगममा रहेका बोपुङ र देबिस्थानलाई बिशेष स्वयत्त क्षेत्र बनाउन सिफारिस गरिएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!