डाबर कम्पनीको देशीय प्रबन्धक भन्दै ठगी गरेर कोइराला फरार

- October 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कावासोती । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् ।

चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् ।

कावासोती, नवलपुर पम्प अगाडिको एक भवनमा जडिबुटी सङ्कलनका लागि उनले घर भाडामा लिएका थिए । कम्पनीका लागि चौकीदारसमेत नियुक्त गरेका उनी बुधबार एकाएक हराएपछि आफूहरु ठगिएको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएका थिए ।

जागिर लगाइदिने र सापटी भन्दै उनले १५ जनासँग रु १० हजारदेखि रु दुई लाखसम्मको रकम उठाइसकेका थिए । उनले होटलमा खाना खाएको, मोबाइल र फर्निचरलगायत विभिन्न सामान किनेको रकमको भुक्तानी बाँकी रहेको बताइएको छ ।

सञ्चारमाध्यमलाई विज्ञापन दिने भन्दै एभरेस्ट बैंकको चेकसहित सम्झौतासमेत गरेका उनी फरार भएका हुन् । पीडितले सम्झौतापत्रसहित मौखिक जानकारी प्रहरीलाई गराएकाले अनुसन्धान भइरहेको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!