‘विराट हिन्दु सम्मेलनमा कुटाकुट

- October 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘निषेधको राजनीतिले विद्रोह जन्माउँछ’ भनेको भोलिपल्टै राजावादीकै समूहभित्रनै  ‘विद्रोह भई कुटाकुट हुन पुगेको छ । राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा शुक्रबार सहभागीहरुबीच कुटाकुट भएको हो । झडपसँगै भएको कुटाकुटमा  राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् ।

बन्दसत्रमा सहभागी एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुटमा समेत पुगेको हो । आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरे । विराट हिन्दु सम्मेलन भनिए पनि बन्दशत्रमा करिब ५०/६० जनामात्रै मानिसहरुको उपस्थिति रहेको थियो ।

पूर्वशाही पाश्वर्ती भरतकेशर सिंहको नेतृत्वमा आयोजना गरिएको तीन दिने अन्तरराष्ट्रिय हिन्दु सम्मेलनको उदघाटन विहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रमार्फत उदघाटन गराइएको सम्मेलनमा यसरी आपसमै पिटापिट भएपछि यो घटनाले पूर्वराजाको राजनीतिक पहलको पहिलो गाँसमै ढुंगा लाग्न पुगेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!