घरको छतमा तरकारी उब्जाएपछि तुलसाले पाइन अन्तर्राष्ट्रिय पुरस्कार

- October 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेको भन्दै चितवनकी तुलसा ज्ञवालीलाई आज ‘अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।

आज परेको ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उहाँलाई आज राजधानीको कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा सुधा शर्माले ‘डब्लुडब्लुएसएफ अवार्ड’ प्रदान गर्नुभएको हो ।

स्विजरल्यान्डको ओमन्स वल्र्ड समिट फाउन्डेसन ९डब्लुडब्लुएसएफ० ले प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपाल नामक संस्थामार्फत चितवनकी ज्ञवालीलाई आज उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्डको राशि एक हजार डलर अर्थात् रु एक लाख छ हजार रहेको छ ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन ज्ञवालीले सफल प्रयोग गरेर देखाउनुभएको छ ।

उहाँले घरबाट निस्कने फोहर छुट्याएर कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमै तरकारी फलाउने सफल प्रयोग गर्नुभएको छ । अहिले यहाँका गाउँका कौसीमा यही विधिबाट तरकारी फल्दै आएको छ ।

पुनः प्रयोग गर्न मिल्ने फोहर बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरुबाट आकर्षक ढकी, पैसा ब्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हातेब्याग बनेका छन् । उहाँ अहिले गाउँगाउँमा यो सीप सिकाउँदै हिँड्नुहुन्छ ।

प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्य महिलालाई समेत पुरस्कारले प्रेरणा मिलेको बताउनुभयो ।

फाउन्डेसनले उक्त अवार्ड मुक्त कमैयाको क्षेत्रमा काम गर्ने निर्मलादेवी चौधरीलाई समेत अवार्डका लागि छनोट गरेको छ ।

नेपालका दुई महिलासहित यो वर्ष विभिन्न देशका गरी नौजनालाई उक्त पुरस्कारका लागि फाउन्डेसनले छनोट गरेको थियो ।

ग्रामीण जीवनमा सिर्जनशीलतामा लागेर नयाँ अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो अवार्ड दिइन्छ । सन् १९९४ मा स्थापना भएको उक्त अवार्डबाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

तुलसाका श्रीमान् कपिल ज्ञवालीले पुरस्कारले गाउँमा महिलालाई उत्प्रेरणा जगाउन थप प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!