बाध्यताले धर्मनिरपेक्षता समर्थन गरे पनि जनमत सङ्ग्रह आवश्यक : महामन्त्री कोइराला

- October 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाले तत्कालीन समयमा केही बाध्यताका कारण धर्मनिरपेक्षतामा समर्थन गरेको बताउनुभयो ।

महामन्त्री कोइरालाले आधिकारिक निर्णय पार्टीले गर्ने भएपनि आफ्नो व्यक्तिगत सुझाव भने जनमत सङ्ग्रहमार्फत धर्मको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

माओवादी मूलधारमा आउँदा धर्मनिरपेक्षता हुनुपर्ने उनीहरुको मागका कारण पनि नेपाल धर्मनिरपेक्ष राज्य बनेको भन्दै उहाँले हिन्दू नै हिन्दूको मतले आफू निर्वाचित भएकाले पनि आफू हिन्दूका पक्षमा नरम बनेको बताउनुभयो । धर्मनिरपेक्ष, सापेक्ष र शून्य नहुने भन्दै उहाँले धर्म स्वतन्त्र हुनुपर्ने बताउनुभयो ।

काँग्रेसको विभिन्न विषयमा आधिकारिक धारणा बनाउन यही कात्तिक ४ गतेदेखि केन्द्रीय समितिको बैठक बस्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “केन्द्रीय समितिको बैठकले काँग्रेसले विभिन्न विषयमा ठोस रणनीति तयार गर्छ ।” केन्द्रीय समितिको बैठकले काँग्रेसलाई पूर्णता दिने कुरामा पनि सहयोग गर्ने भन्दै उहाँले केन्द्रीय समितिलाई पूर्णता दिँदै विभागहरु बन्नुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा महामन्त्री कोइरालाले तीन तहको निर्वाचनबाट मात्रै संविधान कार्यान्वयन हुने बताउनुभयो जसका लागि तीनदल एकै ठाउँमा उभिनुपर्ने भन्दै उहाँले मधेसप्रति काँग्रेसको सद्भाव रहेको बताउनुभयो ।

विसं २००८ मा बिपी कोइरालाको जनताले संविधान दिनुपर्छ भन्ने सङ्कल्प ६५ वर्षपछि पूरा भएको भन्दै महामन्त्री कोइरालाले संविधान कार्यान्वयनका लागि नेकपा ९एमाले०सहितका दललाई समेट्नुपर्ने बताउनुभयो ।

संविधान कार्यान्वयन नभए मुलुकमा गम्भीर सङ्कट उत्पन्न हुने भन्दै उहाँले मेरो गोरुको बाह्रै टक्का कसैले भन्न नहुने बताउनुभयो । एक प्रश्नमा उहाँले सरकार परिवर्तन गरेर अहिलेको समस्या समाधान नहुने बताउनुभयो । तर काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै काँग्रेस र जनताले गुनासो गरेको भने महामन्त्री कोइरालाले थप्नुभयो ।

निर्वाचन गराउन संशोधन आवश्यक

यसैबीच, नवलपरासीको कावासोतीबाट प्राप्त समाचार अनुसार महामन्त्री कोइरालाले २०७४ माघसम्ममा तीनवटै तहको निर्वाचन गराउनुपर्ने भएकाले संविधानमा संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस देवचुली नगर समितिले महामन्त्री डा कोइरालाको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रम तथा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै महामन्त्री कोइरालाले उक्त कुरा बताउनुभएको हो ।

अहिलेको संविधान कार्यान्वयनको एकमात्रै विकल्प रहेको र यसको कार्यान्वयनका लागि मधेसी जनजातिलगायत सबैको माग सम्बोधन गर्न नेपाली काँग्रेस, एमाले र माओवादी एकठाउँमा उभिनै पर्ने बताउनुभयो । महामन्त्री तथा सांसद डा कोइरालाले स्थानीय निर्वाचन चाँडो गरेर संविधानको कार्यान्वयनतर्फ अघि बढ्न सबै दल एक भएर लाग्न आग्रह गर्नुभयो ।

कुनै पनि राष्ट्रिय मुद्दामा नेपाली काँग्रेस, एमाले र माओवादी मिलेर गएमा हरेक समस्याको समाधान निकाल्न सकिने बताउँदै मुलुकलाई संविधानको कार्यान्वयनतर्फ डो¥याउन राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, गुरुराज घिमिरे, पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, जिल्ला सभापति विष्णु लामिछानेलगायतले बोल्नुभएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!