ब्रिक्स सम्मेलनः प्रधानमन्त्री दाहाल गोवामा

- October 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-कृष्ण अधिकारी

भारत । भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल केहीबेर अघि यहाँ आइपुग्नुभएको छ ।

सम्मेलनमा भाग लिन आजै उहाँ नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा आइपुग्नुभएको हो ।

उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल तथा गोवामा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर र नेपालका लागि भारतीय राजदूत रणजीत रायले स्वागत गर्नुभएको थियो ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सि जिन पिङ र भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!